जरोकिलो किन ? – राजन लोहनी

अब राजनीति, अर्थनीति, समाजनीति, स्वास्थानीति, शिक्षानीति आदिलाई सुधार गर्ने हो भने सहृदयता दर्शनमा आधारित राज्यराष्ट्र सिद्धान्तको पुन: व्यवहारिक प्रयोगको लागि मौलिक जरोकिलो पार्टी लाई बुझौं । हामी आफैँ नेतृत्व लिन वा नेतृत्व तयार पार्न समर्पित बनौँ ।

 

१. प्रत्येक इमान्दार नेपालीले गम्भीरतापूर्वक सोच–विचार गरी तत्कालै निर्णय लिनु पर्ने बेला आएको छ — के यो देशको स्थितिलाई यसरी नै बिग्रिइरहन दिने अथवा देशलाई सुखमय बनाउने ? उज्यालो रोज्ने वा अँध्यारो रोज्ने ? निर्णय लिइहाल्नु परेको छ — “अब कुनबाटो लाग्ने ?”

२. आफैँप्रति बेइमानी पो गरिरहनु भएको छ कि ?
कोही व्यक्ति कम्युनिस्ट पार्टी, कांग्रेस, राप्रपा, राजपा, फोरम, कथित वैकल्पिक पार्टीहरु, कथित पहिचानवादी पार्टीहरुको सदस्य / कार्यकर्ता / नेता छ, तर कुराचाहिँ हिन्दूराष्ट्र वा बौद्धराष्ट्र वा धर्मसापेक्षताका गर्छ भने सरासर बेइमानी हो । उक्त पार्टीहरुका सैद्धान्तिक मान्यता (मार्क्सवाद, लेनिनवाद, समाजवाद, उदारवाद वा अरु केही शब्दजाल) नबुझी पार्टीमा लाग्नु भएको हो भने एक प्रकारको बेइमानी भयो ।

सैद्धान्तिक मान्यता बुझेरै उक्त पार्टीहरुमा लाग्नु भएको हो भने तिनीहरुका सैद्धान्तिक मान्यताको विपरित गएर हिन्दूराष्ट्र, बौद्धराष्ट्र, धर्मसापेक्षता भन्दै हिँड्नु अर्को बेइमानी भयो । मस्जिदमा वा चर्चमा गएर भगवान् शिव, भगवान् विष्णु, भगवती दुर्गा, भगवान् बुद्धको मूर्ति पूजा गर्छु भन्नु र कम्युनिस्ट पार्टी, कांग्रेस, राप्रपा, राजपा, फोरम, कथित वैकल्पिक पार्टीहरु, कथित पहिचानवादी पार्टीहरुको सदस्य / कार्यकर्ता / नेताको हैसियतमा रहेर हिन्दूराष्ट्र, बौद्धराष्ट्र, धर्मसापेक्षताका नारा उराल्नु उस्तै तरिका हो ।
यदि कुनै माग उठाउनु छ, नारा लगाउनु छ, मान्यता अगाडि सार्नु छ भने सोही अनुसारको आफ्नो सांगठनिक सम्बद्धता वा असम्बद्धता हुनु पर्छ । मेरो सल्लाह मान्नुहुन्छ भने कम्युनिस्ट पार्टी, कांग्रेस, राप्रपा, राजपा, फोरम, कथित वैकल्पिक पार्टीहरु, कथित पहिचानवादी पार्टीहरु नेपालका लागि अनुपयुक्त, असान्दर्भिक, अहितकारी हुन् ।

३. हिंसा, अराजकता, हाहाकार !! घृणा, द्वेष, वैमनस्य !! असुरक्षा, अशान्ति, त्राहीत्राही, रोदन, चित्कार !! भ्रस्टाचार, तस्करी, कालाबजारी, महङ्गी !! बेरोजगारी, पलायन, निराशा !! गरिबी, रोग, भोक, शोक !! विकृति, विसङ्गति, पापाचार !! अन्याय, अत्याचार, शोषण, दमन, असमानता !! खै कहाँ छ चित्त बुझाउने ठाउँ ? को हो दोषी ? कसले हो हामीलाई यो महासङ्कटबाट पार लगाउने ?
प्रत्येक इमान्दार नेपालीले गम्भीरतापूर्वक सोच–विचार गरी तत्कालै निर्णय लिनु पर्ने बेला आएको छ — के यो देशको स्थितिलाई यसरी नै बिग्रिइरहन दिने अथवा देशलाई सुखमय बनाउने ? उज्यालो रोज्ने वा अँध्यारो रोज्ने ? निर्णय लिइहाल्नु परेको छ — “अब कुनबाटो लाग्ने ?” मेरो बाटो – जरोकिलो महाअभियान हो | तपाइको नि ?

४. विकल्प/निर्विकल्प कि मूलधार ?
नेपालको राजनैतिक बाटो कता जाँदैछ ? यो प्रश्नको उत्तर शीर्ष नेतृत्वलाई पनि थाहा छैन | नेपाली जनता अन्यौलमा छन् | उनीहरूले विश्वास गर्न जानेका छन् | विश्वास गरिरहेका छन् र धेरै समयसम्म विश्वास गरिनै रहनेछन् भन्न सकिन्न | राजनैतिक कार्यकर्ता पनि अन्यौलमा छन् तर उनीहरूसंग नेतृत्वको सर्कुलर मान्नुको विकल्प पनि छैन |

राजनैतिक नेतृत्वको चाहना नेपालको भलो गर्नु गर्नु नै होला तर जुनबाटो उहाँहरूले समात्नु भएको छ, त्यसको टुङ्गो सधैं अन्यौल मै हुन्छ | सडक बनेको एक महिनापछि पानी वा ढल विभागले सडक खनेर पुन: कमिसनका लागि बाटो खोलिदिएझैं राजनैतिक संस्कारमा इमानदारीता खोज्नु असम्भव मानिन्छ | आज राजननीति गर्नु भनेको ठग, छलकपट तथा भष्टाचारको पर्यायवाची बनेको तत्थ्य सबैले बुझेकै कुरा हो |

कार्लमार्क्स वितेको दुई शताब्दि वित्नै लागे पनि नेपालका मार्क्सभक्तहरू तिनकै सिद्धान्तको कर्मकाण्डमा रुल्मुलिएको देखिन्छ भने समाजवादीका रूपमा आफुलाई उभ्याउन खोज्ने बामइतर राजनैतिक चिन्तन पनि हब्स, रुसो, वासिंगटन वा अब्राहम लिंकनमा अडिएको छ | यी दुवैमा एउटा समानता छ : पश्चिमा वैचारिक उपनिवेशवाद | राजनीति, शिक्षा, संस्कृति, विकास, मानवाधिकार, संस्कार तथा रहन-सहन समेत पश्चिमा पद्यतिको नै महान हुन्छ भन्ने विषयमा यी सबैमा कुनै विवाद छन् | पुँजीवाद र साम्यवादको विरोधाभाष पनि आयातित नै भएकोले यसको प्रयोग त भइनै रहने छ |

हामी नेपाली हौँ र हाम्रो धरातलीय र ऐतिहासिक यथार्थ पनि नेपाल नै हो | हाम्रा इतिहास र संस्कृतिका सबै थोक ठीकठाक नहोलान् र अहिलेको समयमा उपयुक्त पनि नहोलान् तर विश्वको सबैभन्दा प्राचीन र जीवन्त सभ्यताका रूपमा उभिएका हिन्दू, बौद्ध, जैन, किरात, बोन आदिका ग्राह्यविषयहरूलाई हेय ठान्ने वा निषेध गर्नेहरूप्रति नेपाली जनता सहमत हुनै सक्दैनन् | यस्तो जागरुकता क्रमश: फैलिँदो छ | केवल खाइपाइ आएको सुविधा खोसिएला भनेर पर्खेको स्थिति छ |

आफ्नो इतिहास, संस्कृति तथा मौलिकताको निन्दा गर्दै आरम्भ हुने विश्व कै अद्वितीय वर्तमान नेपाली संविधानका जन्मदाताका रूपमा जस-अपजस पाएको वर्तमान राजनैतिक शक्तिको शक्तिक्षय चाहिं तेसैबेला आरम्भ भएकै हो | यी सबैले अव विकसित हुने राजनैनीतिक शक्ति वैकल्पिक / निर्विकल्प हुनुपर्छ भन्ने माग गर्छ | जुन गतार्थ छ |

यसको अर्थ हो कि अब नेपालमा मूलधारको शक्ति सृजना हुनुपर्छ |
आफ्नो मौलिकता, स्थानीयताको जरोकिलोमा उभिएर विश्वलाई ग्रहण गर्ने र विश्वलाई मार्गनिर्देशन गर्ने शक्ति चाहिएको छ | एस्तो शक्ति हाल नेपालमा क्रियाशील राजनैतिक चिन्तनबाट उपलब्ध हुँदैन | परिवर्तनका नाममा जडतावादबाट मुक्त नहुने र आफ्नोपनको पहिचानका लागि पनि पराईको लेखाई, बोलाई र गराईलाई विश्वास गर्नेहरूप्रति नेपाली जनताले विश्वास गर्ने ठाउँ छैन | हामी मूलधारको शक्तिको विकासका लागि क्रियाशील छौँ | हामी अन्यौलग्रस्त तथा मक्किएको राजनैतिक शक्तिहरूका लागि मूलधारको “जरोकिलो” निर्माण गरिरहेका छौँ |

५. ५० – ६० लाख नेपालीजन किन विदेशिए ? कति रहरले विदेशिए ? कति लोभ, लालच, तृष्णाले विदेशिए ? कति बाध्यताले विदेशिए ? रहरले वा लोभ, लालच, तृष्णाले विदेशिने त जति समृद्ध देशका नागरिक पनि विदेशिएका हुन्छन्, तर परिवारलाई सामान्य हातमुख जोर्ने प्रबन्ध गर्नैका लागि समेत विदेशिनु पर्ने बाध्यतामा परेका आफ्ना नागरिकलाई स्वदेशमै बस्ने एवं आफ्नै ठाउँमा पौरख गर्ने परिस्थिति मिलाउने जिम्मा सरकारको हो नि । कपूतन्त्रे पार्टीहरुलाई ग्लानी लज्जा, अपराधबोध किन नभएको होला ?

हे कपूतन्त्रे हो !
तिमीहरुको बेइमानी, निर्लज्जता, बिखालु असरको कुनै सीमा छैन ? पूरा देश नै सक्रिय, सबल, तागतिलो श्रम शक्तिबाट वञ्चित हुँदैछ । एता देशभित्रचाहिँ रोजगारीका लागि विदेशी (भारतीय, चिनीया, बांग्लादेशी र अन्य पनि) कार्यरत छन् र श्रम बजारको माग पूरा गर्न थप विदेशी आउने स्पष्टै आँकलन गर्न सकिन्छ । सुरुमा श्रम शक्तिका रुपमा आपूर्ति भएको विदेशी जनबलले भविष्यमा राजनीतिक, सामाजिक, सांस्कृतिक, रणनीतिक पाटाहरुमा समेत चुनौती खडा गर्नेछ ।

६. कम्युनिस्ट, कांग्रेस, राप्रपा, फोरम, राजपा, कथित वैकल्पिक, कथित पहिचानवादी, जे साइनबोर्ड टाँगेका होऊन्, कपूतन्त्रकै गुटहरु हुन् । उही मुलाको सिन्की, उही मुलाको चाना ।

 

हामी पृथक्, मौलिक हौँ भन्ने आधार के हो ? लक्ष्य, उद्देश्य, आधारशीला चतुष्टय, सिद्धान्त, अर्थराजनीतिको ढाँचा, संगठन पद्धति, सांगठनिक संरचना, कार्य पद्धतिले पुष्टि गर्छ ।
हाम्रो लक्ष्य :- वैज्ञानिक सत्ययुग ।
हाम्रो उद्देश्य :- नेपाललाई वर्तमान सङ्कटको सङ्क्रमणबाट मुक्त गराउने, विश्वका विकसित देशहरुको समूहमा पुर्याउने र अन्ततोगत्वा नेपाललाई नयाँ वैश्विक संरचनाको अग्रणी एवं केन्द्र बनाउने ।

हाम्रा आधारशिला चतुष्टय :- विज्ञानको बुद्धि, प्रविधिको प्रगति, धर्मको विवेक, सहृदयताको सम्बन्ध ।

हाम्रो सिद्धान्त :- राज्यराष्ट्र ।

हाम्रो अर्थराजनीतिको ढाँचा :- सहृदयता अर्थतन्त्र ।

हाम्रो संगठन पद्धति :- विशिष्ट नेतृत्व, सामूहिक कर्तृत्व, संस्थागत स्वामित्व ।

हाम्रो सांगठनिक संरचना :- सभा, समिति, परिषद् ।

हाम्रो कार्यपद्धति :- अनुसन्धान, उद्यमशीलता, विकास ।

हाम्रो शिक्षा पद्धति – आधुनिक गुरुकुल |

हाम्रो समाज विकासको सिद्धान्त – स्थितिगत्यात्मक प्रगतिवाद |

हाम्रो दृष्टिकोण – वैज्ञानिकतायुक्त धर्म एंव धार्मिकतायुक्त विज्ञान |

आत्मबोध, आत्मदर्शन र वैश्वस्थानिक अग्रताको लागि सहकार्य गरौँ |
आशा, आत्मविश्वास र आत्मीयताका संवाहकका रुपमा कर्मरत रहौं |
अब तपाईको बाटो कुन भनेर निर्णय गर्न सहज हुनेछ | धन्यवाद |
जरोकिलो सारा नेपालीको मूल परिचय हो |

(लेखक : जरोकिलो प्रतिष्ठान नेपालको संस्थापक सदस्य हुन् |)

 

 

सम्बन्धित शिर्षकहरु