अस्ट्रेलियामा क्‍वारेन्टाइनको नियम उल्लंघन गर्ने जेल चलान

अस्ट्रेलिया । अस्ट्रेलियाको पर्थमा क्‍वारेन्टाइनको नियम उल्लंघन गर्ने ३५ वर्षीय एक जनालाई जेल हालिएको छ । गत महिना सामाजिक दूरी कायम गर्ने नियम बनेयता क्‍वारेन्टाइन र सामाजिक दूरी कायम नगरेको भन्दै जेल हालिएका ३५ वर्षीय जोनाथन डेभिड पहिलो व्यक्ति हुन् ।

१४ दिन अनिवार्य क्‍वारेन्टाइनमा बस्‍नुपर्ने भए पनि केटी साथीलाई भेट्‍न क्‍वारेन्टाइनबाट भागेर होटलमा गएको भन्दै जेल हालिएको हो । क्‍वारेन्टाइनको नियम उल्लंघन गर्नेलाई ६ महिनाको जेल सजायको प्रावधान गरिएको छ ।

उनले क्‍वारेन्टाइनमा राखिएको होटलको आपतकालीन ढोकाबाट भागेको र सार्वजनिक सवारीमार्फत केटी साथीलाई भेट्‍न गएको अदालतमा बयानका क्रममा बताएका छन् । उनलाई अदालतले ‘विपत्तिमासमेत स्वार्थी’ बनेको आरोप लगाएका छन् । तर, उनको पाँच महिनाको जेल सजाय भने रद्द गरिएको छ ।

अधिकांश अस्ट्रेलियन राज्यहरुमा आवतजावतमा कडा प्रतिबन्ध लगाइएको छ । केही सातायता घरबाट बाहिर निस्किएको, भिड जम्मा गरेको, अत्यावश्यक कामबाहेक बाहिर घुमेको भन्दै प्रहरीले सयौंलाई जरिवाना गराएको छ । -बीबीसी

सम्बन्धित शिर्षकहरु