मार्च ३१ दक्षिणी र पूर्वी अस्ट्रेलियाका लागि सुखद्, बुसफायर समाप्त

अस्ट्रेलिया । मार्च ३१ दक्षिणी र पूर्वी अस्ट्रेलियाका लागि सुखद् साबित भएको छ। सन् २०१९-२० को डरलाग्दो बुसफायर अन्ततः समाप्त भएको छ। यो बुसफायर अस्ट्रेलियाको हालसम्मकै सबैभन्दा बढी भयानक थियो।

अस्ट्रेलियाको मौसम विज्ञान निकाय वेदरजोनले उक्त आगलागीले गरेको क्षति भयानक भएको जनाएको छ।

झाडी र घाँसमा भएको आगलागीका कारण अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा मात्र ५५ लाख हेक्टर भूमि जलेको छ। यो क्षेत्रफल राज्यको ६ प्रतिशतसम्म हुन आउँछ।

उक्त बुसफायरका कारण दक्षिणपूर्वी राज्यमा २ हजार ४४८ घर जलेका छन् र २५ जनाको ज्यान गएको छ। यसमध्ये तीनजना न्यु साउथ वेल्स राज्यका ग्रामीण अग्नि सेवा स्वयंसेवी र तीनजना अमेरिकी अग्नि नियन्त्रक छन्। यो राज्यको इतिहासकै सबैभन्दा भयानक आगलागी हो।

अस्ट्रेलियाको राजधानी क्यानबेरामा भने हजारौँ रूख मरेका छन्। वर्षौँदेखिको न्यून वर्षा र उच्च तापक्रमका कारण सहरी जङ्गलमा पनि प्रभाव परेको छ।

वर्षा ढिलो भएसँगै करीब २२ हजार रूखलाई पानी दिइएको सहरी सेवा मन्त्री क्रिस स्टिलले जनाएका छन्। तर यो कदम ढिलो भएको वनस्पतिविज्ञले बताएका छन्।

अब जलवायु परिवर्तन भएसँगै कुन-कुन प्रजातिका रूखबिरुवा रोप्ने भन्नेबारे पुनर्विचार गर्नुपर्ने अस्ट्रेलिया राष्ट्रिय विश्वविद्यालयको एक अनुसन्धानले जनाएको छ।

सम्बन्धित शिर्षकहरु