अस्ट्रेलियास्थित नेपाली राजदूतावासको अपिल-‘ राती जरुरी परेको यो नम्बरमा सम्पर्क गर्नुहोस्’

अस्ट्रेलिया । अस्ट्रेलियास्थित नेपाली राजदूतावासले अत्यावश्यक अवस्थाबाहेक यात्रा नगर्न त्यहाँस्थित नेपालीहरुलाई अपिल गरेको छ।

अस्ट्रेलिया सरकारले बुधबार आफ्ना नागरिकलाई विदेश यात्रामा रोक लगाउनुको साथै सय जनाभन्दा बढी जम्मा नहुन निर्देशन दिएको थियो ।

सोही निर्देशनअनुसार नेपाली राजदूतावासले त्यहाँस्थित नेपालीहरुलाई बिना काम यात्रा नगर्न अपिल गरेको हो। बुधबार प्रेस विज्ञप्ति जारी गर्दै दूतावासले कन्सुलर सेवाहरुका लागि हुलाकमार्फत् डकुमेन्ट पठाउन आग्रह गरेको छ।

त्यस्तै दूतावासले सम्पर्क गरेरमात्र दूतावास आउन आग्रह गरेको छ। उसले अफिस खुल्ने समय बिहान १० बजेदेखि १ बजेभित्र सम्पर्क गरेरमात्र आउन अनुरोध गरेको हो। कामका लागि आउँदा सम्बन्धितबाहेक अन्य व्यक्ति नआउनसमेत आग्रह गरिएको छ।

दूतावासले अन्य जानकारीका लागि आफ्ना टेलिफोन नम्बर ०२-६२८६८००४, अथवा ०२-६२८६८००६ सम्पर्क गर्न भनेको छ। रातको समयमा अत्यन्त जुरुरी परेको अवस्थामा भने ०४३३९००२२७ वा ०४५०४३६१९९ मा सम्पर्क गर्न नेपालीहरुलाई अनुरोध गरेको छ।

‘राहदानी नवीकरण, यात्रा अनुमति पत्र, गैरआवासीय नेपाल परिचय पत्र, भीसा र सवारी चालक अनुमति पत्रलगायतका कागजात प्रमाणिकरणका लागि यस राजदूतावासको वेवसाइटमा रहेको विवरण अनुसारको कागजात तयार गरी हुलाकमार्फत पठाउने,’ विज्ञप्तिमा भनिएको छ, ‘अधिकृत वारेशनामा, मञ्जुरीनामालगायत राजदूतावासमा स्वयं उपस्थित भइ सहीछाप गरिदिनुपर्ने कामका लागि अत्यन्त जरूरी अवस्थामा मात्र राजदूतावासमा आउने।’

 

सम्बन्धित शिर्षकहरु