काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह भोलि माघ २२ मा साता लामो भारत भ्रमणमा निस्कन लागेका छन् । भारतको उडिसास्थित आदि शंकराचार्य मठ रहेको पुरीमा मुकाम बनाएर उनी धार्मिकस्थल भुवनेश्वरको दर्शन गर्न जानलागेका हुन् । यो भ्रमणमा पूर्व राजा शाहका साथमा सहयोगी सागर तिमिल्सिना मात्र रहने बताईएको छ ।
खासगरी भुवनेश्वरमा रहेको गर्भगृहको पूजा अर्चना गर्न पूर्व राजा त्यता जान लागेको बताईएको छ । गर्भगृह त्यस्तो धार्मिक स्थल हो, जसको पूजा गर्ने एकमात्र आधिकारिक हैसियत नेपालका राजालाई मात्र रहेको छ । नेपालमा गणतन्त्र स्थापना भएपछि गर्भ गृहको पूजा अर्चना हुननपाएकाले पूर्व राजालाई ‘हिन्दू नरेश’ हैसियतमा भ्रमण गरिदिन भारतका हिन्दू नेताहरुले निकै उच्चतहबाट अनुरोध गरेर निमन्त्रणा गरेको समाचार सूत्रले बताएको छ ।
भुवनेश्वरमा पूजा गर्दा आयोजना हुने धार्मिक समारोहमा नेपालका राजा हिन्दू नरेशको हैसियतमा मर्यादाक्रममा सबैभन्दा माथिल्लो स्थानमा रहने परम्परा थियो । यही परम्परालाई निरन्तरता दिँदै पूर्व राजा शाहलाई हिन्दू नरेशको हैसियतमा गर्भ गृहको पूजा गर्न मञ्जुर गराईएको सम्बध्द सूत्रले बताएको छ ।
यो समारोहमा जाँदा उनीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य धार्मिक नेताहरुको भेटवार्ता हुने चर्चा छ। गत पुसको पश्चिम नेपाल भ्रमणका बेला अचानक भारतको लखनउ पुगेर शाहले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटेका थिए । त्यहाँको बसाईमै यो भ्रमणको तयारी भएको बताईएको छ।
त्यहाँ भएको परामर्श बमोजिम नै योगीकै संयोजनमा शाह र मोदीबीच भेटघाट हुने कार्यक्रम तय भएको थियो। समाचार सूत्रका अनुसार, उत्तर प्रदेशका मुख्यमन्त्री योगीका सहयोगीहरू शाहको उडिसा भ्रमणको कार्यक्रम बनाउन पूर्व दरबारका सहयोगीसँग परामर्श गर्न काठमाडौं आएका थिए ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथका विशेष सहयोगी एवं देवीपाटन मन्दिर, बलरामपुर तुलसीपुरका महन्थ मिथिलेश नाथ महाराजसहितको तीन सदस्यीय टोली काठमाडौंमा आएर फर्किसकेका छन् । यो टोलीमा योगी विनोद नाथ र योगी दीनानाथ समेत सरिक थिए ।








