ठोकर्पा भिडन्तमा तीन गोली लागेर पनि बाँचेका अग्‍नि सापकोटा अब सभामुख

काठमाडौं । करिब डेढ महिना लामो रस्साक्सीबीच सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभाको सभामुखको उम्मेदवार स्थायी कमिटी सदस्य अग्‍नि सापकोटालाई बनाउने निर्णय गरेको छ। आइतवार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय लिएको महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए।

यसअघि आइतवार बिहान दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सापकोटाकै नाममा सहमति जुटाएका थिए। यसअघिकै सचिवालय बैठकले उपसभामुख डा. शिवमाया तुम्बाहाङफेलाई राजीनामा दिन भनिसकेको छ।

सत्तारुढ नेकपाले प्रतिनिधि सभाको सभामुख चयन गर्न नसक्दा प्रतिनिधिसभाको बैठक पटक पटक स्थागित हुँदै आएको थियो। तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद सचिवालयकै कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा जेल गएसँगै सभामुख पद रिक्त थियो।

को हुन अग्नि सापकोटा
सिन्धुपाल्चोकको चौतारा-४ कुबिन्डे टोलमा बुवा धनपति सापकोटा र आमा तिलमाया सापकोटाको कोखबाट २०१४ फागुन २४ गते अग्निप्रसाद सापकोटाको जन्म भएको थियो। गाउँकै श्रीकृष्ण विद्याश्रमबाट औपचारिक पठनपाठन शुरु गरी सापकोटाले त्यही विद्याश्रमबाट एसएलसी उतीर्ण गरेका थिए। समाजशास्त्रमा स्नातकोत्तरसम्म अध्ययन गरेका सापकोटाले १६ वर्ष शिक्षक भएर बिताएका थिए। वि.सं. २०३२ देखि शिक्षण पेशा शुरु गरेका सापकोटाले सिन्धुपाल्चोकको साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालयमा पढाएका थिए। शिक्षण पेसामा रहँदा पनि उनी राजनीतिमै सक्रिय थिए।

विद्यार्थीकालदेखि नै नेतृत्व गर्ने स्वाभावका उनले शिक्षक हुँदा पनि विभिन्‍न शैक्षिक तथा राजनीतिक आन्दोलनको नेतृत्व गरेका थिए। त्यस्तै, विद्यालयको प्रधानाध्यापक भएर पनि उनीले लामो समय बिताए।। वि.सं. २०३६ सालको जनमत संग्रहपछि शिक्षक संघर्ष समितिको जिल्ला उपाध्यक्ष हुँदै केन्द्रीय उपाध्यक्षसम्म भएका उनले शिक्षण सँगसँगै राजनीतिलाई पनि अगाडि बढाए। वि.सं. २०२९ सालदेखि विद्यार्थी राजनीतिबाट राजनीतिक जीवनको शुरु गरेका सापकोटा कुनै बेला शिक्षकको रुपमा विद्यार्थीहरुलाई शिक्षादीक्षा दिने र पञ्चायती राजका विरुद्ध राजनीतिक चेतना दिने राजनीतिक गुरुका रुपमा पनि रहे। शिक्षण पेशामै रहँदा शिक्षक संघर्षको क्रममा पटक-पटक गिरफ्तारी, हिरासत र काराबासको जीवन भोगेका उनले लगातार लामो समय भने २०४२ बैशाखदेखि असोजसम्म ६ महिना बन्दि जीवन बिताउनु परेको थियो।

२०४८ सालमा शिक्षण पेशाबाट राजीनामा दिएर राजनीतिमा पूर्णकालीन भएका उनी त्यही वर्ष नै संयुक्त जनमोर्चा नेपालको केन्द्रीय सदस्य भएका थिए। २०४८ सालमै संयुक्त जनमोर्चाका तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेद्वार बनेका उनी पराजित हुनुपरेको थियो।

२०५१ सालमा तत्कालीन नेकपा (माओवादी)को केन्द्रीय सदस्य बनेका सापकोटा २०६९ मा तत्कालीन एकीकृत नेकपा (माओवादी)को हेटौंडा महाधिवेशनबाट पोलिटव्यूरो सदस्य र विराटनगर सम्मेलनबाट स्थायी समिति सदस्य हुँदै पार्टी केन्द्रीय कार्यालय सदस्यसम्मको जिम्मेवारी पूरा गरे।

सम्बन्धित शिर्षकहरु