नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगाना नियुक्त

काठमाडौं, २१ पुस । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगाना नियुक्त भएका छन् ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई अध्यक्षमा नियुक्त गरेको हो ।

बोर्डको अध्यक्षका लागि नीरज गिरी, भीष्मराज ढुंगाना र डा. केशवप्रसाद श्रेष्ठको नाम अध्यक्षका लागि सिफारिस भएको थियो त्यसबाट ढुंगाना छनोटमा परेका हुन् ।

ढुंगानाले अब धितोपत्र बोर्डमा ५ वर्ष नेतृत्व गर्ने छन् । बोर्डमा अध्यक्ष नै कार्यकारी प्रमुखको हुन्छ । बोर्डले नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत पब्लिक कम्पनीहरु, मर्चेन्ट बैंकर्स, सेयर ब्रोकर लगायत पुँजी बजारमा प्रत्यक्ष रुपमा संलग्न कम्पनीहरुको अनुगमन गर्छ ।

ढुंगानाले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए तथा बेलायतबाट विजनेश फाइनान्समा एमबीएसम्मको अध्ष्ययन गरेका छन् ।

पूर्वी नेपालको मोरङमा २०१९ माघ १० गते जन्मिएका ढुंगानाले २०४२ सालदेखि २०४६ सालसम्म राष्ट्रिय वाणिज्य बैंकमा काम गरेका थिए भने २०४६ सालमा नेपाल राष्ट्र बैंक प्रवेश गरेका थिए ।

सेयर बजारको नियमन गनै निकाय नेपाल धितोपत्र बोर्ड साढे २ महिनादेखि नेतृत्वबिहीन रहदै आएको थियो । बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीको कार्यकाल असोज मसान्तमा सकिएपछि उक्त पदको लागि होडबाजी चल्दै आएको थियो ।

सम्बन्धित शिर्षकहरु