काठमाडौं । नेपाल राष्ट्र बैंकले एटिएमबाट दैनिक निकाल्न पाइने रकमको सीमा बढाएको छ । यसअघि एटिएममार्फत ग्राहकले ६० हजारसम्म मात्रै निकाल्ने मिल्ने व्यवस्था गरेकोमा अहिले फेरि सीमा बढाइएको हो ।
राष्ट्र बैंक भुक्तानी विभागले सर्कुलर जारी गर्दै एटिएम कार्डहरुबाट अब दैनिक एक लाख रुपैयाँसम्म झिक्न पाउने व्यवस्था गरेको हो । यसअघि चिनियाँ ह्याकरको समूहले विभिन्न बैंकको एटीएम प्रयोग गरी रकम चोरेपछि राष्ट्र बैंकले एक लाखको सीमा घटाएर ६० हजार बनाएको थियो ।
त्यस्तै, अब एटिएमबाट एक पटकमा २५ हजार रुपैयाँ झिक्न सकिनेछ । हाल एटिएमबाट एक पटकमा २० हजार रुपैयाँ मात्रै झिक्न पाइने व्यवस्था थियो । त्यस्तै, अब बैंक तथा वित्तिय संस्थाहरुले एटिएम बुथ अगाडी सुरक्षा गार्ड राख्नु नपर्ने भएको छ । सिसिटिभी भने सबै एटिएम बुथहरुमा अनिवार्य गरिएको छ ।








