‘विश्वासको मत लिनु पर्ने वा नपर्ने भन्ने बहस अर्थहीन,मत लिन महाभारत छैन यसो हात उठाए भइहाल्यो’

काठमाडौं । सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विश्वासको मत लिनु पर्ने वा नपर्ने भन्ने बहस अर्थहीन रहेको बताएका छन् ।

मन्त्रालयमा बिहीबार गरिएको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले सरकार बनिसेकपछि मात्रै समाजवादी पार्टी मिसिएकोले विश्वासको मत आवश्यक नपर्ने बताए ।

उनले यदि यदि संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भएपनि त्यसका लागि कुनै महाभारत नभएको र बहुमत समर्थन रहेको अवस्थामा विश्वासको मत लिन कुनै समस्या नभएको उल्लेख गरे ।

उनले भने, ‘प्रधानममन्त्रीले विश्वासको मत लिँदा के बिग्रन्छ र ? बहुमत बिग्रिएको भए यो प्रश्न मजबुद भएर आउँथ्यो । कुनै दलले समर्थन गरेको थियो त्यो निस्कियो के भयो र ? प्रतिनिधि सभामा बहुमत छ ।

संविधानले व्यवस्था गरेको छ भने हाम्रो लागि महाभारत छैन, यसो हात उठाए भइहाल्यो नि ।’ संविधानको धारा १०० मा सत्तामा सहभागी गठबन्धनको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

यस्तै मन्त्री बाँस्कोटाले अमेरिकी सहयोग परियोजना एमसीसी र इन्डोप्यासिफिक रणनीति फरक रहेको बताउँदै सो परियोजनाको ५ सय मिलियन डलर ऊर्जा र सडक पूर्वाधारमा खर्च गरिने बताए । सन् २०११ मा एमसिसिसँग नेपालको सम्बन्ध रहेको बताउदै इन्डोप्यासिफिक सन् २०१७ पछि मात्रै सुरु भएको उनले बताए ।

सम्बन्धित शिर्षकहरु