वैदिक दिनचर्या र वैज्ञानिक पक्ष – आचार्य राजन शर्मा (भिडियो)

  • राजन लोहनी ,कतार, दोहा। 

हाम्रो पूर्वीय संस्कार अनुसार हामीले कसरी दिनको शुरु गर्ने र कसरी अन्त गर्ने भन्ने बारेमा आज हामी तपाईलाई वैदिक दिनचर्या र त्यसको फाइदाहरूको बारेमा बताउन गैरहेका छौँ ।

मानव जीवन जस्तो अमूल्य अरु केही छैन भनिन्छ मानव बन्न देवता पनि इच्छा राख्छन् । त्यस्तो अमूल्य जीवनका मालिक हामी आफुले के गर्ने ? के नगर्ने ? बिचको भेद नजानेर दु:ख पाइरहेका छौँ ।

हामी आफूलाई सनातनी त भन्छौँ तर के हामीले सनातन पद्धति अनुसार जीवन यापन गरेका छौँ त ? आउनुहोस् आचार्य राजन शर्मा (भिमसेन सापकोटा) गुरुले हाम्रो लागि वैदिक दिनचर्या गर्नु पर्ने विषयहरुको बारेमा संक्षिप्त जानाकारी यस प्रकार छ । थप जानाकारीको लागि भिडियो अवश्य हेर्नुहोला ।

आचार्य राजन शर्मा ( भिमसेन सापकोटा)

 

१. ईश्वर प्रति कृतज्ञता – जब हामी सुतेर उठ्नु पुर्व निन्द्राको अवस्थाबाट चेतन अवस्थामा आउनु पुर्व आँखा परेली नखुल्दैको समयमा हामीले म यस धर्तीमा पुन: जागृत हुन् पाएकोमा ईश्वरलाई कृतज्ञता प्रकट गर्नु पर्दछ ।

२. कर दर्शन – अर्थात् ईश्वरलाई कृतज्ञता प्रकट गरेर आँखा खोली सके पछि ईश्वरलाई साक्षी राखेर सबैभन्दा पहिले कर (हात) लाई हेरेर आज म जे कर्म गर्नेछु ती सबैको हितको लागि गर्नेछु, आज मेरा हातले गरिने कर्मले कसैको जीवनमा नराम्रो नहोस् भनि प्रार्थना गर्नु पर्दछ ।

३. भूमि स्पर्श – हातको दर्शन पछि हामी विस्तारै सुतेको स्थानबाट जब हाम्रो खुट्टालाई भूमिमा स्पर्श गर्छौं त्यतिबेला आफ्ना हातले धर्तीमातालाई शीर झुकाएर हातले धर्तीलाई स्पर्श गरेर हे धर्तीमाता मलाई यस भूमिमा उभिन दिनुभएकोमा कृतज्ञता प्रकट गर्दै, मेरा खुट्टाले अन्जानैमा धर्तीमा रहेका जीवहरुको हत्या हुन् गएमा क्षमा दिनुहोला भनेर आफ्ना पाइला अगाडि बढाउनु पर्दछ ।

४. उषापान – अब हामीले सकेसम्म तामाको भाँडामा अघिल्लो दिन राखेको पानी मनतातो बनाएर पिउने । पानी पिउनु पुर्व थुक्नु पनि हुँदैन । पानी राम्रो सँग मुख भित्र राखेर निल्नु पर्दछ । यसो गरेमा हाम्रो पेट सम्बन्धित रोगहरुबाट छुटकारा पाउन सकिन्छ ।

नेपाली राजदूतावास दोहा कतार, संस्कार नेपाल सत्संगमा सम्मान गरीएको तस्वीर

५. शौचालय – माथिका क्रिया क्रमै सँग सके पछि शौचालय जाने गर्नु पर्दछ ।  हामीले शौचालय पछि सुर्य उदय पुर्व नै स्नान गर्नु पर्दछ । यस्तो स्नानाले हाम्रो शरीरलाई अत्याधिक लाभ प्राप्त हुन्छ सकेसम्म नदी, खोलाको पानीले स्नान गर्ने गर्नु पर्दछ | स्नान पछि आफ्ना पितृ, ऋषि, कुलदेवता आदिलाई पानी दिनु पर्दछ ।

६. सन्ध्या बन्धन – हाम्रो परम्परामा ३ पटक दैनिक सन्ध्या बन्धन गर्ने विधि छ | यो कर्मले हाम्रो शरीरलाई उर्जा दिन्छ | हरेक ६-६ घण्टा पछि हाम्रो शरीरको उर्जा कम् हुन्छ | त्यसलाई पुन: जागृत गर्न यो कर्म गरिन्छ ।

जस्तैः मोबाइलको ब्याट्री सकिए पछि काम गर्दैन र फेरी चार्ज गर्नु पर्छ त्यस्तैगरी हाम्रो उर्जा कम् नहोस् भनी दिनमा ३ पटक यो कर्म गर्नु पर्दछ। कतिबेला गर्ने त सन्ध्या बन्धन बिहान सुर्य उदाउनु पुर्वको १० मिनेट र उदाए पछिको १० मिनेट कम्तीमा, मध्यान्ह १२ बजे पहिलाको १० र पछिको १० मिनेट, तेस्रो बेलुका सुर्य अस्त हुनु पुर्वको १० र पछिको १० मिनेटमा गर्ने गर्नु पर्दछ । यो समयमा विशेष उर्जा हामीले प्राप्त गर्न सक्छौँ |

७. सुर्य दर्शन – बिहान सुर्यलाई जल चढाउने गर्नु पर्दछ किनकी सुर्य बिना जीवन असम्भव छ । हामीलाई प्रकाश दिने साक्षात् ईश्वर प्रति कृतज्ञता प्रकट गर्दै हामीले गर्ने कर्म सुर्यको किरण जस्तैः हितकारी होस् भन्ने कामना गर्नु पर्दछ।  सुर्यको बिहानको किरणको स्पर्शले हाम्रो धेरै रोग निको हुनुको साथै शरीर लाई चाहिने भिटामिन निशुल्क पाउन सकिन्छ ।

८. योग, प्राणायाम, ध्यान – त्यसपछि हामीले योग गर्नु पर्दछ । योगले हामीलाई परमात्माको नजिक लाने काम गर्दछ । योगलाई मानिसले हिजोआज व्यायामको रुपमा लिने गरेको पाइएको छ तर योग भनेको हाम्रो शरीरको दुर्वलता नष्ट गर्दै परमात्माको नजिक लाने मार्ग हो | त्यसैले हामीले प्रत्येक दिन योग, प्राणायाम, ध्यान गर्नु पर्दछ । त्यपछि हामीले आफ्ना दैनिक रम गर्नु पर्दछ |

९. सात्विक भोजन र कर्म – भोजन गर्नु पुर्व मन्त्र सहित हामीले भोजन सात्विक गर्नु पर्दछ । भोजन गर्नु पुर्व ईश्वलाई अर्पण गरेर, अन्न दाता प्रति कृतज्ञता प्रकट गर्दै, ईश्वरलाई सम्झेर मैले ग्रहण गरेको भोजनले मेरो शरीरलाई यस्तो उर्जा प्राप्त होस् मैले केवल लोक कल्याणको लागि कर्म गर्ने शक्ति प्राप्त होस् ।

भोजन गर्दा जमिनमा बसेर पुर्व वा उत्तर फर्केर गर्नु पर्दछ । भोजन पछि ब्रजासनमा बस्ने गर्नु पर्दछ कम्तीमा ५-७ मिनेट । त्यसपछि हामीले गर्ने कर्म लोक हितको लागि गर्ने गर्नु पर्दछ ।

१०. दिव्य चिन्तन – हरेक दिन हामीले दिव्य चिन्तन गर्नु पर्छ | हाम्रो चिन्तन सबैको हित हुने विषयमा हुनु पर्दछ ।

११. शयन कृतज्ञता – माथिका कर्मगरी सकेपछि हामीले सुत्नु पुर्व पुन: ईश्वरलाई कृतज्ञता प्रकट गर्नु पर्दछ।

१२. दिव्य शयन – माथिका कर्म गरेपछि हामीले हरेक दिन दिव्य निन्द्रा प्राप्त गर्न सक्छौँ जसले हामीलाई स्वस्थ राख्न सहयोग गर्दछ । हाम्रो निन्द्रा हामीले गर्ने कर्म, भोजन र चिन्तन अनुसार नै हुनेछ ।

त्यसैले हामीले सात्विक कर्म, भोजन र चिन्तन गरी रहनु पर्दछ । जसले हामीलाई सुखमय जीवन जीउन मद्दत गर्दछ | हामी सबैले खोजेको र प्राप्त गर्न चाहेको विषय पनि यही हो ।

सभार :https://khabardeshpradeshko.wordpress.com

सम्बन्धित शिर्षकहरु