काठमाडौं । मन्त्रिमण्डल हेरफेर हुनेबित्तिकै मन्त्री बन्ने भनी चर्चा भएका नेकपा केन्द्रीय सदस्य एवम् दोलखाबाट निर्वाचित संघीय सांसद पार्वत गुरुङलाई काठमाडौँ जिल्ला अदालतको आदेशमा जिल्ला प्रहरी कार्यालयले पक्राउ पुर्जी जारी गरेको छ । वीरध्वज खड्काको जाहेरीले २९ वैशाख ०७६ मा काठमाडौँ जिल्ला अदालतमा सांसद् गुरुङविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरेको थियो ।
०७६ मा भदौ १२ काठमाडौँ जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय दोलखालाई गुरुङलाई अदालतमा उपस्थित गराउन पत्र पठाएको थियो । ज्यान मार्ने उद्योग मुद्दामा दोलखाले ८ असोजमा सांसद् गुरुङलाई पक्राउ पुर्जीको म्याद तामेल गरेको हो ।
सांसद् गुरुङका नाममा जारी भएको ३५ दिने पक्राउ पुर्जी दोलखाको गौरीशंकर गाउँपालिका अध्यक्ष स्वयंबहादुर खड्काले गाउँपालिकाको छाप लगाएर ८ असोजमा बुझेको बताइएको छ । सांसद गुरुङसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
०७४ वैशाखमा भएको स्थानीय निर्वाचनलगत्तै दोलखाका वीरध्वज खड्कामाथि काठमाडौँको गौशालामा आक्रमण भएको थियो । त्यसपछि खड्काले गुरुङसहित संलग्न भई आक्रमण गरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौँमा ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए ।
नेकपा केन्द्रीय सदस्य गुरूङ २०७४ सालको आम चुनावमा सबैभन्दा बढी मत पाएर विजयी हुने नेकपा सांसद् हुन् ।








