काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हरितालिकातीजको दिन पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनको सजिलोका लागि त्यस क्षेत्रमा सवारी प्रवेशमा रोक लगाएको छ। पशुपति क्षेत्रमा पूजाआज गर्ने आवत जावत गर्नेको भीडलाई मध्यनजर गर्दै प्रहरीले सवारी आवागमनको रुट समेत निर्धारण गरेको छ। पशुपतिमा दर्शन गर्न आउने भक्तजनको सवारी पार्किङका लागि गुह्येश्वरीपारि, सिफलचौर, तिलगङ्गा र कोषको कार्यालय परिसरमा व्यवस्था गरिएको छ।
सरकारी नम्बर प्लेटका सवारीसाधनलाई कोष कार्यालय र अन्यलाई अन्यत्रका स्थलमा पार्किङ गर्ने प्रबन्ध गरिएको कोषले जनाएको छ। पहिलो लाम गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै पश्चिम ढोकाबाट, दोस्रो लाम जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठ हुँदै पश्चिम ढोकाबाट, तेस्रो लाम एयरपोर्ट–पिङ्गलास्थान–चार शिवालय हुँदै दक्षिण ढोकाबाट प्रवेश गर्ने व्यवस्था मिलाइएको कोषका सदस्यसचिव प्रदीप ढकालले जानकारी दिए।
बैकल्पिक रुपमा पूर्वी ढोका पनि उपयोग गर्दा भक्तजनले छिटो दर्शन गरेर फर्कन सक्ने कोषको विश्वास छ। भदौ १६ गते पशुपतिमा आउनेका लागि चावहिलबाट सवारीसाधन रोकिने छन् भने कालोपुलबाट गाडीलाई प्रवेश निषेध गरिने छ।
पशुपतिमा सादा पोशाकमा प्रहरी
नेपाल प्रहरीसँगको समन्वयमा पशुपति क्षेत्रमा तीज पर्वलाई ध्यान दिँदै आजैदेखि सादा पोशाकका प्रहरी खटाइसकिएको छ। मेला अवधिभर चार हजार सुरक्षाकर्मी पशुपति क्षेत्रमा खटिनेछन्। शान्ति सुरक्षालाई ध्यानमा राखी मन्दिर आउँदा गरगहना नलगाई आउन कोषले भक्तजनमा आह्वान गरेको छ। पशुपतिमा दर्शन गर्न आउने भक्तजनको सवारी पार्किङका लागि गुह्येश्वरी पारि, सिफलचौर, तिलगङ्गा र कोषको कार्यालय परिसरमा व्यवस्था गरिएको छ।
सरकारी नम्बरप्लेटका सवारीलाई कोष कार्यालय र अन्यलाई अन्यत्रका स्थलमा पार्किङ गर्ने प्रबन्ध गरिएको छ। जुत्ता चप्पल राख्ने व्यवस्थाका लागि वरुणधारा, कैलाशडाँडामुनि, कोषको कार्यालय, भुवनेश्वरीलगायत स्थान छुट्याइएको छ। नाचगान एवं भक्ति सङ्गीत प्रस्तुतिका लागि हंसमण्डप, वनकाली, गौशाला, जयवागेश्वरी, मित्रपार्क तोकिएको छ। सुरक्षाकर्मी र स्वयंसेवकको सहयोगमा पशुपति क्षेत्रमा पर्ने चक्रपथ सडक बन्द नगर्ने गरी व्यवस्थापन गर्न लागिएको पनि कोषले जनाएको छ।
कोषले भदौ १६ गते बिहान ६ बजेअघि नै पशुपतिका नित्य दर्शनार्थीलाई दर्शन गरिसक्न पनि आह्वान गरेको छ। ६ बजेपछि महिला भक्तजनको भीड बढी हुने भएकाले पुरुष दर्शनार्थीलाई यस्तो आह्वान गरिएको हो। तीजका अवसरमा भदौ १६ गते बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खोलिनेछ। तीजको मेला व्यवस्थापनका लागि पशुपतिमा सबै तयारी पूरा भइसकेको कोषले जनाएको छ।








