काठमाडौं । भाद्र कृष्ण औंसीका दिन मनाइने कुसे औंसी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुस घर–घरमा भित्र्याएर मनाउँदै छन् । कुसलाई शालिग्राम, तुलसी तथा पिपललाई जस्तै भगवान विष्णुका रूपमा पूजा गरिन्छ । शास्त्रीय मान्यताअनुसार पुरोहित वा ब्राह्मणले मन्त्रोच्चारण गरी वैदिक विधिका साथ काटिएको कुस आफ्ना यजमानका घरघरमा पुर्याउने र कुस लैजाने पुरोहित वा ब्राह्मणलाई यजमानले सिदा र दक्षिणा दान गर्ने प्रचलन छ ।
कुसे औंसीका दिन छोराछोरीले आफ्ना बुबालाई मनपर्ने खानेकुरा, फलफूल, मिठाइ खुवाएर तथा कपडा उपहार दिएर सम्मान र आदर गर्ने गर्छन् । बुबाबाट आशिर्वाद प्राप्त गरेमा सुख शान्ति मिल्ने विश्वासका आधारमा विभिन्न कारणले घरबाट टाढा रहेका छोराछोरीले समेत समय निकालेर घरमा पुगी बाबुलाई मनपर्ने खानेकुरा खुवाउने र नयाँ वस्त्र उपहार दिने गर्दछन् । बुबा नहुनेले भने काठमाण्डौ उत्तरपूर्वमा अवस्थित गोकर्णेश्वर महादेव, रसुवाको बेत्रावती, तनहुँको देवघाट, सुनसरीको विष्णुपादुका तथा बराह क्षेत्रलगायतका पवित्र तीर्थस्थल पुगेर स्नान गरी पितृको नाममा श्राद्ध गरी तर्पण दिई दान दिने गर्दछन् ।
गोकर्णेश्वर नगरपालिकामा सार्वजनिक बिदा
गोकर्णेश्वर नगरपालिकाले कुसे औंसीको दिन अर्थात् शुक्रबार सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले बिहीबार सार्वजनिक सूचना जारी गरी शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बुधबार बसेको २५ औं नगर कार्यपालिकाको बैठकले कुसे औंसीको दिन शुक्रबार बिदा दिने निर्णय गरेको नगरपालिकाका प्रमुख सन्तोष चालिसेले जानकारी दिए ।








