तामाकोशी नदी किनारमा सेल्फी खिच्न गएकी युवतीलाई कोशीले बगायो

रामेछाप  । तामाकोशी गाउँपालिका–७ हलेदेस्थित तामाकोशी नदी किनारमा सेल्फी खिच्न गएकी युवतीको कोशीले बगाएर मृत्यु भएको हो । भक्तपुर कमल विनायककी १८ वर्षीया शर्मिला कर्माचार्यको मृत्यु भएको हो । उनी भक्तपुरबाट रामेछापको सदरमुकाम मन्थली हुँदै दोलखाको भीमेश्वर मन्दिर दर्शन गर्न जाँदै थिइन् । रामेछापको सदरमुकाम मन्थलीबाट दोलखातर्फ जाने क्रममा लिखु–तामाकोशी गाउँपालिका–७ तिल्पुङको हेलेदे भन्ने स्थानमा तामाकोशी नदी किनारमा पुगेर सेल्फी खिच्ने क्रममा लगाएको चप्पल चिप्लिएर तामाकोशी नदीमा खसेकी थिइन् ।

नदीले उनलाई बगाउँदै एक किलोमिटर पर पुर्‍याएको थियो । मन्थली नगरपालिका–१ आकाशेको पक्की पुल नजिक युवती बग्दै आएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।मन्थलीको आकाशेमा रहेको सशस्त्र प्रहरी गुल्मबाट गएको टोलीले उनको जीवितै उद्धार गरेको थियो । तर, गम्भीर अवस्थामा उद्धार गरिएकी युवतीको मन्थलीस्थित तामाकोशी अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक सन्तोषकुमार भट्टराईले जानकारी दिए ।

शर्मिला भक्तपुरको कमलविनायक घर भई भक्तपुरकै दुधपाटी भन्ने स्थानमा रहेको रोज डेन्टलमा काम गर्थिन् । त्यहाँ कार्यरत डाक्टरसहितको टोलीसहित उनी शुक्रबार बिहान भीमेश्वर दर्शनका लागि भक्तपुरबाट हिंडेकी थिइन् । नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।

सम्बन्धित शिर्षकहरु