दुई वर्षसम्म ‘फरार’ रहेका पूर्वआईजीपी ठकुरी आत्मसमर्पण लगत्तै डिल्लीबजार कारागारमा

काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरिक्षक रमेश चन्द ठकुरीले आत्मसमर्पण गरेका छन् । सर्वोच्च अदालतले चर्चित सुडान घोटाला प्रकरणमा दोषी ठहर गरेको दुई वर्षसम्म फरार रहेका चन्द ठकुरीले बिहीबार सर्वोच्च अदालत पुगेर आत्मसमर्पण गरेका हुन् । आत्मसमर्पण गरेका उनले कारागारबाहिर रहेरै पुनरावेदन गर्न पाउनुपर्ने माग राखेका थिए।उनको मागअनुसारको जेल बाहिरै बसेर मुद्दामा जाने विषयलाई भने सर्वोच्चले अस्वीकार गरेको छ।

सर्वोच्चको अस्वीकारसँगै उनलाई फैसला कार्यान्वयनका लागि कारागार पठाउन आदेश दिइएको छ। उनलाई डिल्लीबजार कारागार लगिएको छ। फौजदारी कार्यविधि संहिताको १३७(२) अनुसार १० वर्षभन्दा कम कैद सजायको फैसला भएकाले थुनामा नबसी पुनरावेदन गर्न सक्ने व्यवस्था छ। उनले त्यसैका आधारमा निवेदन दिएका थिए।

तर, सर्वोच्च अदालतले शशीकान्त अग्रवालको मुद्दामा बृहत पूर्ण इजलासले दिएको फैसलालाई नजिर मान्दै उनलाई जेल जाने बाटो देखाएको हो। अग्रवालको फैसलामा यस्तो सुविधा लिनका लागि कानुनको पालना गर्नुपर्ने व्याख्या सर्वोच्चले गरेको थियो। त्यही नजिरअनुसार नै अब उनले जेलभित्रै बसेरमात्र पुनरावलोकन गर्न पाउनेछन्।

सम्बन्धित शिर्षकहरु