काठमाडौं । देशभरको मौसममा बदली भएको छ । देशका पूर्वी र मध्य क्षेत्रमा मौसम बदलीभई कुनै पनि बेला वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। राजधानीमा भने वर्षा भैरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार पोखरादेखि पश्चिम भने आज र भोलि पानी पर्ने सम्भावना छैन। ‘अहिले खासगरी पूर्वको पहाडी र मध्य क्षेत्रको तराई भेगमा बादल बाक्लो लागेको छ,’
उनका अनुसार यी भेगका कुनै स्थानमा अहिले पनि पानी परिरहेको हुनसक्छ। पश्चिमी क्षेत्रमा बदली भए पनि आज मध्यपश्चिम र सुदूर पश्चिममा भने पानी पर्ने सम्भावना छैन।
माैसम पूर्वानुमान महाशाखाले जारी गरेकाे ३ दिनसम्मकाे माैसमी अनुमान यस्ताे छ-
असार १४ गते (शनिबार )
दिउँसोः देशको मध्य र पुर्वी भूभागमा सामान्य बदलि तथा पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली भई पूर्व र मध्यका केही स्थानहरूमा साथै पश्चिमका थोरै स्थानहरूमा वर्षाको सम्भावना छ।
राति: देशभर सामान्य बदली भई पूर्व र मध्यका धेरै स्थानहरूमा र पश्चिमका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ। पूर्वका एक दुइ स्थानमा भारि वर्षा हुने सम्भावना छ।
असार १५ गते (आइतबार)
दिउँसोः देशभर सामान्य बदली देशका केही स्थानहरूमा वर्षाको सम्भावना छ।
राति: देशभर सामान्य बदली भई पूर्व र मध्यका केही स्थानहरूमा साथै पश्चिमका थोरै स्थानहरूमा वर्षाको सम्भावना छ।
असार १६ गते (सोमबार)
दिउँसोः देशभर सामान्य बदली भई देशका धेरै स्थानहरूमा वर्षाको सम्भावना छ।
राति: देशभर सामान्य बदली भई पूर्व र मध्यका धेरै स्थानहरूमा र पश्चिमका केही स्थानहरुमा वर्षाको सम्भावना छ।
आज (शनिबार) केही जिल्लामा बाढी तथा पहिरोको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज प्रदेश १ र ३ का पहाडी जिल्लाहरूमा वर्षा हुँदा बाढी तथा पहिरो जाने सम्भावना छ।
आज राति खासगरी तेह्रथुम, भोजपुर, संखुवासभा, सोलुखुम्बु, दोलखा र काठमाडौं आसपास का जिल्लाहरूमा वर्षा भइराख्दा ससाना खोलानाला र पहिरोग्रस्त क्षेत्रमा बाढी तथा पहिरो जाने सम्भावना रहेकाले होसियारी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
ठूला नदीनालाहरूमा भने आगामी ३ दिनसम्म ठूलो बाढीको जोखिम नरहेको पनि महाशाखाको बुलेटिनमा उल्लेख छ।








