सिन्धुपाल्चोकका यी युवक जसले युवतीबाट यसरी ठगे लाखौं

काठमाडौं । सामाजिक सञ्जालको माध्यमबाट खास गरी युवतीलाई सम्पर्क गरी युरोप, अमेरिका पठाउने भन्दै लाखौं रुपियाँ संकलन गरेर सिन्धुपाल्चोकका एक युवा स्पेन पलायन भएका छन्। विभिन्न नाममा नक्कली विद्युतीय ठेगाना (आईडी) खोलेर युवतीहरूलाई विदेशमा राम्रो अवसर छ भन्दै शृंखलाबद्धरूपमा ठगी गर्दै आएका सिन्धुपाल्चोक पटाप घर भई केही समयअघिसम्म जोरपाटी बस्दै आएका ती व्यक्तिको नाम हो- कृष्ण दंगाल।

उनी हाल स्पेनको पाइसभास्को राज्यको प्रोभेन्सियाको बिलवाउमा बस्दै आएको बुझिएको छ।

विशेष गरी अविवाहित युवती र श्रीमान् नेपाल नभएका महिलाहरूसंँग सामाजिक सञ्जालमार्फत साथी बनाउने तथा आफू स्पेनमा बस्दै आएको र स्पेनमा रोजगारीका लागि कुनै समस्या नभएको भन्दै ठगी गरेको तथ्य फेला परेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले जनाएको छ।

यसभन्दा अघि पनि यस्तै ठगी मुद्दामा जेल परेका दंगाल जेलबाट बाहिरिएपछि आफ्नो ठगी धन्दालाई निरन्तरता दिँदै आफ्नै दाइको सालीदेखि श्रीमतीको फुपूको छोरीलाई समेत ठगी गरेको उजुरी परेको सीआईबीका एक अनुसन्धान अधिकारीले जानकारी दिए।

कतिपय युवतीलाई नेपालमा विभिन्न नामका कम्पनी खोल्न लगाएको र त्यही कम्पनीमार्फत भिजिट भिसामा स्पेन ल्याउन सजिलो हुने भन्दै कम्पनी दर्ता गर्न लगाएको पीडितहरूले बताएका छन्। यो खबर आजको नेपाल समाचारपत्रमा दीपक रिजालले लेखेका हुन्।

दंगालको ठगीमा परेकी सविना गौतमले कारबाहीका लागि आफूले सीआईबीलाई गुहारेको बताएकी छन्।

‘कृष्ण दंगाल मेरो भिनाजुको भतिज हो, उसले मलाई स्पेन लैजान्छु भन्दै कम्पनी पनि दर्ता गराउन लगायो। कम्पनी पनि दर्ता गरें, ६ लाख रुपियाँ पठाउनु भनेपछि पटक–पटक गरेर ६ लाख रकम पाएपछि ऊ मसँगको सम्पर्कबाट बाहिरियो,’ अमृताले दुखेसो पोख्दै ठगिएको कथा सुनाइन्।

यसअघि सिंगापुर तथा अन्य आकर्षक देशमा पठाउने भन्दै ठगी गरेको आरोपमा जेल परेका दंगालले नेपाल प्रहरीको चालचलन शाखाबाट पुलिस रिपोर्ट लिएर नेपालस्थित जर्मन दूतावासबाट सेन्जेन भिसा लिएर स्पेन पुगेको पीडितहरू बताउँछन्।

प्रहरीका उच्च तहका अधिकृतलाई समेत प्रभाव पार्नसक्ने खुबी रहेको दंगालले प्रहरी प्रधानकार्यालयले प्रदान गर्ने पुलिस रिपोर्टमा ठगीको अभियोगमा जेल परेको भन्ने कुरालाई उल्लेख नै नगरी चालचलन राम्रो भएको रिपोर्ट कसरी लियो भन्ने विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ।

अबैध रूपमा स्पेनमा बस्दै आएका दंगालले अहिले त्यहाँ बैध रूपमा बस्नका लागि कागजात बनाउने कामलाई अगाडि बढाएको समेत पीडितहरूले बताएका छन्।
पछिल्लोपटक दंगालले १२ भन्दा बढी युवायुवतीबाट ३० लाखभन्दा बढी ठगी गरेको उजुरी प्रहरीकहाँ पुगेको छ।

यसअघि २०७२ पुस ६ गते जिल्ला अदालत काठमाडौंले ठगी गरेको अभियोगमा दंगालविरुद्ध बिगो बराबरको रकम जरिवाना र जेल सजाय तोकेको थियो।

सम्बन्धित शिर्षकहरु