राष्ट्रपति भण्डारीको राजकीय भ्रमणलाई उच्च महत्व,यस्तो छ कार्यतालिका

काठमाडौं । चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान गरेकी छन् । बेइजिङमा २५ देखि २७ अप्रिलमा हुने दोश्रो बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चमा सहभागी हुने गरि राष्ट्रपति भण्डारीले ९ दिने राजकीय भ्रमणको लागि आज बेइजिङ प्रस्थान गरेकी हुन् ।

बेइजिङमा रहँदा राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सीसँग दुई पक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। नेपालमा गणतन्त्र स्थापना भएको दश वर्षपछि राष्ट्रपतिको यो नै पहिलो औपचारिक चीन भ्रमण हुनेछ। बीआरआई फोरममा सहभागी हुने क्रममा चीनका राष्ट्रपति सीको निमन्त्रणामा नेपालसँगै मंगोलिया, चिली, पोर्चुगल र स्वीटजरल्याडका राष्ट्रपतिले चीन भ्रमण गर्नेछन्। राष्ट्रपति सी चिनफिङले शिखर मञ्चको उद्धाटन समारोहमा सहभागी भएर सम्बोधन गर्नुका साथै विदेशी नेताहरूसँग हुने गोलमेच शिखर सम्मेलनको अध्यक्षता गर्नेछन्। यसअघि नेपालका राष्ट्रपति डा. रामवरण यादवले सांघाई वल्र्ड एक्स्पो र बोआओ एशिया फोरममा सहभागी हुने क्रममा दुई पटक चीन भ्रमण गरेका थिए।

यस्तो छ विस्तृत कार्यतालिका
१२ वैशाखः ११ वैशाखमा मध्य चीनको सान्सी प्रान्तको राजधानी सियान उत्रने राष्ट्रपतिको भ्रमण दलको कार्यक्रम छ। १२ वैशाखमा राष्ट्रपति भण्डारीसँग सान्सी प्रान्तका नेताहरुले भेटघाट गर्नेछन्। दिउँसो सियान शहरको भ्रमण गर्ने कार्यक्रम छ। १२ गते साँझ साढे सात बजे भण्डारी बेइजिङ उड्ने कार्यक्रम छ।

१३ वैशाखः बेइजिङस्थित राष्ट्रिय सम्मेलन केन्द्रमा चीनका राष्ट्रपति सीले बीआरआईको दोस्रो शीखर सम्मेलनको उद्घाटन बिहान साढे ९ बजे गर्नेछन। ११ बजेपछि सोही हलमा उच्चस्तरीय बैठक हुनेछ। साँझ राष्ट्रपति भण्डारीको सम्मानमा चिनियाँ राष्ट्रपति सीले ग्रेट हल अफ दि पिपुलमा रात्रीभोज आयोजना गरेका छन्।

१४ वैशाखः राष्ट्रिय सम्मेलन केन्द्रमा बिहान १० बजेबाट बीआरआई सम्मेलनमा सहभागी हुने पाहुनाका लागि ‘वेलकम सेरोमोनी’ हुनेछ। साढे ११ बजेदेखि दिउँसो १ बजेसम्म पहिलो सत्रमा कनेक्टिभिटिले ल्याउने आर्थिक वृृद्धिका नयाँ स्रोतहरूबारे छलफल हुनेछ। लगत्तै समूहमा फोटो खिचाएपछि अतिथिहरुका लागि ककटेल रिसेप्सन आयोजना गरिएको छ। अपरान्ह ३ः१५ देखि साँझ पौने ६ बजेसम्म तेस्रो सत्रमा सहभागी भएपछि राष्ट्रपति भण्डारी नेपाली दूतवासले उनको सम्मानमा आयोजना गर्ने रात्रीभोजमा सरिक हुनेछिन्।

१५ वैशाखः बेइजिङको चाओयाङमा बिहान उद्योग तथ व्यापार सम्बन्धी बैठकमा सहभागी भएपछि राष्ट्रपति भण्डारी दिउँसो भ्रमणमा निस्कनेछिन्। उनले भ्रमण गर्ने ठाउँहरु निर्धारण हुन बाँकी नै छ। साँझ ६ बजे अन्तर्राष्ट्रिय पुष्पकला प्रदर्शनी र त्यहाँ नेपालले बनाएको लुम्बिनी पीस गार्डेनमा सहभागी भएलगत्तै होटल फर्केर डिनर गर्ने कार्यक्रम छ।

१७ वैशाखः बिहान साढे ६ बजे राष्ट्रपति भण्डारीको टोली चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा प्रस्थान गर्ने भ्रमणतालिकामा उल्लेख छ। दिउँसो ल्हासा भ्रमण गरेपछि राष्ट्रपति भण्डारीसँग साँझ तिब्बतका नेताहरुले दुई पक्षीय हितका विषयमा छलफल गर्ने कार्यक्रम छ।

१८ वैशाखः बिहान ल्हासस्थित नेपाली महावाणिज्य दूतवासले राखेको स्वागत कार्यक्रममा सहभागी भएपछि राष्ट्रपति भण्डारीले दिउँसो टिबेट अटोनोमस डिस्ट्रिक (टीबीसी) को भ्रमण गर्ने कार्यसूची छ।

१९ वैशाखः बिहान ११ः५० बजे राष्ट्रपति भण्डारीले नेतृत्व गरेको नेपाली टोली काठमाडौं प्रस्थान गर्नेछ।

 

सम्बन्धित शिर्षकहरु