काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले देशमा लोडसेडिङ ब्युँताउन खेल सुरु भएको बताएका छन् । घिसिङले विगतमा देशलाई अँध्यारोमा राखेका व्यक्तिले केही व्यक्ति र मिडिया परिचालन गरेर आफू र प्राधिकरणका बारेमा अनर्गल प्रचार भैरहेको र देशमा फेरि लोडसेडिङ गराउन चाहेको बताए । सोमबार रत्नपार्कस्थित प्राधिकरणको कार्यालयमा पत्रकार सम्मेलन गरेका घिसिङले भने, ‘मैले ६० लाख भत्ता बुझेको हैन, राम्रो गरेर सरकारले मुल्याकंन गरेर ६ लाख दिएको हो ।’
वार्षिक कार्यसम्पादन मुल्याकंन गर्दा उत्कृष्ट काम गरेको पाइए प्राधिकरणको कार्यकारी प्रमुखलाई सरकारले २४ लाख रुपैयाँसम्म अतिरिक्त भत्ता दिने व्यवस्था रहेको उनले बताए । ‘मैले करबाहेक ६ लाख बुझेको रहेछु ।’ घिसिङले भने, ‘गलत कुरा प्रचार गरी व्यक्तिगत आक्षेप लगाइएको छ, म स्पष्ट पार्न चाहन्छु, प्राधिकरणले पारदर्शितालाई पहिलो मन्त्र मानेर काम गर्छ ।’
आफूहरुको काम नागरिकले मुल्यांकन गरिरहेको भन्दै उनले प्राधिकरण नाफामा गएको नपचेको बताए । प्राधिकरणका पाँचौ तहका केही कर्मचारीले केही मिडिया प्रयोग गरेर आफूविरुद्ध नभएका हल्ला फैलाएको भन्दै घिसिङले त्यस्ता कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिए । विगतमा प्राधिकरणको कार्यकारी निर्देशकसँग मिलेर लोडसेडिङ गराउनेहरु सक्रिय भएको उनले बताए । ‘हिजोको जस्तै प्राधिकरणमा खेलो गर्न खोज्नेहरु सक्रिय छन्, हामीसँग हिजो कसरी लोडसेडिङ गराए भन्ने प्रमाण पनि छ’, उनले भने ।
प्राधिकरणको बोर्ड बैठकमा छलफलमा भएका कुरा बंग्याएर बाहिर ल्याउने गतिबिधि बढेको उनको भनाइ छ । ‘छलफलमै रहेका कतिपय कुरा पनि बंग्याएर दुष्प्रचार गर्ने क्रम बढेको छ, विगतका एमडी र लोडसेडिङ गराउनेहरुले उनीहरुलाई कसरी परिचालित गर्दैछन् भन्ने म बुझ्दैछु’, उनले भने । आफू प्राधिकरणमा रहेसम्म पारदर्शी भएर काम गर्ने तर कसैले दादागिरी गरेमा त्यो कारबाहीको भागिदार भएरै छाड्ने घिसिङले चेतावनी समेत दिए ।








