काठमाडौं । चालू आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ६.२ प्रतिशत र आगामी आवमा त्यो ६.३ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । एशियाली विकास बैंक (एडिबी) ले बुधबार सार्वजनिक गरेको पछिल्लो विवरणमा अर्थतन्त्रका सूचक सकारात्मक रहेका उल्लेख गर्दै त्यस्तो प्रक्षेपण गरेको हो ।
सबल आन्तरिक मागको आधारमा आर्थिक परिदृश्य स्थिरतातर्फ उन्मुख रहेका तथा भूकम्पपछिको तीव्र गतिको पुनःनिर्माण एवं प्रदेश र स्थानीय सरकारहरुलाई ठूलो परिमाणमा बजेट विनियोजनले आर्थिक वृद्धिमा मद्दत पुगेको एडिबीको विश्लेषण छ । वित्तीय सङ्घीयताको निर्वाध कार्यान्वयनका चुनौतीहरु समाधान गर्न नसकेको खण्डमा र वित्तीय अनुशासन पालना नभएको अवस्थामा जोखिम उत्पन्न हुनसक्ने भन्दै प्रतिवेदनमा ती चुनौतीलाई सम्बोधन गर्नसके नेपालले लामो अवधिसम्म उच्च र दिगो आर्थिक वृद्धि हासिल गर्नसक्ने सम्भावना रहेको उल्लेख छ ।







