काठमाडौं । कमिसन वृद्धिका लागि दबाब दिन ग्यास उद्योगीले घोषणा गरेको हडतालमा पेट्रोलियम क्षेत्रका सबै व्यवसायीले ऐक्यबद्धता जनाएका छन् । यससँगै बजारमा ग्यास अभाव हुन थालेको छ । उद्योगीले ८ फागुनमा पत्रकार सम्मेलन गरी कमिसन नबढाए ग्यास बिक्री ठप्प पार्ने घोषणा गरेका थिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
सरकारले ग्यासलाई अत्यावश्यक वस्तुमा सूचीकृत गरी हडताल गर्न नपाइने कानुनी व्यवस्था गरेको छ । ऐनले यी वस्तुमा हडताल गर्नेलाई ६ महिनासम्म जेल वा २ सय रुपैयाँ जरिवाना वा दुवै सजायको व्यवस्था गरेको छ । तर, उद्योगीले अभाव सिर्जना गरेरै भए पनि कमिसन बढाउन खोज्दा सरकार भने कारबाहीको सट्टा वार्ता गर्न खोजिरहेको छ ।
उद्योगीले १७ फागुनबाट हडतालका कार्यक्रम सुरु गर्ने र ३० गतेदेखि देशभर ग्यास बिक्री ठप्प पार्ने धम्की दिएका छन् । ६ वर्षदेखि आफूहरूको माग सुनुवाइ नभएकाले हडताल घोषणा गर्न बाध्य भएको ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले बताए । ग्यास उद्योगी र आयल निगमबीच बुधबार छलफल भयो । ‘बुधबार प्रारम्भिक छलफल भयो, त्यो छलफल हेर्दा सरकारी निकाय हाम्रो माग सुनुवाइ गर्न गम्भीर छन् भन्ने लागेन,’ भण्डारीले भने । निगमसँगको छलफलपछि उद्योग संघले बुधबार नै केन्द्रीय बैठक गरेको छ । माग पूरा गराउन अझ सशक्त भएर प्रस्तुत हुने निर्णय गरिएको भण्डारीले बताए ।
हाल प्रतिसिलिन्डर ग्यासको मूल्य १ हजार ४ सय रुपैयाँ छ । उद्योगीले कमिसन र सञ्चालन खर्चका रूपमा २ सय ८१ रुपैयाँ ५ पैसा पाउँछन् । त्यसमध्ये उद्योगी र विक्रेतालाई ३२–३२ रुपैयाँ कमिसन दिइएको छ ।
ग्यास उद्यमीको मागमा पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन र पेट्रोलियम ढुवानी व्यवसायी महासंघले समर्थन जनाएका छन् । ग्यास उद्योगीको हडताललाई सहयोग गरी माग पूरा गराउन सके दुवैले आफ्ना माग पनि अघि सार्ने उद्देश्य राखेका छन् । दुवैले मंगलबार आयल निगमलाई यसबारे जानकारी गराएका छन् । त्यस्तै, ग्यास डिलरहरूको संस्था ग्यास विक्रेता महासंघले शुक्रबारै पत्रकार सम्मेलन गरेर हडतालमा सहभागी हुने बताइसकेको छ ।
पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले आफूहरूको माग पनि सुनुवाइ नभएको बताए । ‘ग्यास उद्योगीलाई कमिसन राम्रो थिएन । अर्कातिर, हाम्रा पनि केही कुरा छन् । त्यसबारे छलफल गरौँ भन्दा सरकारका कुनै निकायले मानेका छैनन्,’ प्रधानले भने, ‘हडताल नगरी केही मनाउनै नसकिने स्थिति छ । त्यसैले ग्यास उद्योगीलाई साथ दिने निर्णयमा पुगेका हौँ ।’
तेल बोक्ने पेट्रोलियम ढुवानी महासंघका महासचिव विश्व अर्यालले ग्यास उद्योगीको जायज माग सम्बोधन जरुरी रहेकाले समर्थन गरेको बताए । ग्यास विक्रेताहरूले भने बिक्री मूल्यको ५ प्रतिशत हुन आउने रकम डिलर कमिसनका रूपमा पाउनुपर्ने माग राख्दै आएका छन् । ग्यास विक्रेता महासंघका अध्यक्ष महेश्वर श्रेष्ठले हाल पाइरहेको ३२ रुपैयाँ प्रतिसिलिन्डर कमिसन दर न्यून रहेको बताए ।








