प्रतिपक्षलाई मनाउन सरकार असफल, कांग्रेसले संसद अवरोध जारी राख्ने

काठमाडौं । पछिल्लो समय सरकारप्रति निकै आक्रामक बनेको प्रतिपक्ष दल नेपाली कांग्रेसले संघीय संसदका दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) अबरोध कायमै राख्ने भएको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक दिउँसो २ बजे बोलाइएको छ । आज बस्ने राष्ट्रियसभाको बैठकबाट सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पास गर्ने तयारी गरेको छ ।

यसअघि बसेको राष्ट्रियसभाको बैठकले प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधकाबीच शिक्षामन्त्री गिरीराजमणी पोखरेलले पेश गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथी छलफल गरियोस् भन्ने प्रस्ताव पारित गरेको थियो । गत शुक्रबार प्रतिपक्ष दल नेपाली कांग्रेसको नाराबाजी र अवरोधकाबिच प्रतिनिधिसभाले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेपछि कांग्रेस आक्रोशित छ ।

विधेयक पारित गरेसंगै सभामुख कृष्णबहादुर महराले बैठक एक साताको लागि स्थगित गरेका थिए । सभामुख कृष्णबहादुर महराले बुधबार प्रतिनिधिसभा बैठक सुचारु गराउने विषयमा छलफल गर्न बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसले यथास्थितिमा प्रतिनिधिसभा बैठक संचालन गर्न नदिने अडान कायमै रहेको जनाउ दिएको थियो ।

सत्ता पक्षले बलजफ्ती ढंगले पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक नसच्याएसम्म आफ्नो पार्टीले संसद चल्न नदिने निर्णय लिएको बैठकपछि कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए । उनले सत्तापक्ष र सभामुखले नागरिक स्वास्थ्यजस्तो गम्भिर विषय समावेश गरिएको सो विधेयक जबरजस्ती पारित गरेकाले त्यसप्रति आफूहरुको असहमति रहेको स्पष्ट पारे ।

प्रमुख सचेतक खाँडले सो विधेयक राष्ट्रिय सभाबाट सच्याउन पनि सरकारलाई सचेत गराए । आजबाट प्रतिनिधिसभालाई सुचारु गराउन सभामुख महराले गरेको आग्रहलाई कांग्रेसले अस्विकार गरेको प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले जानकारी दिइन् ।

सम्बन्धित शिर्षकहरु