काठमाडौं । सडक दुर्घटनामा गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।शनिबार साझ प्रमुख जिल्ला अधिकारी भट्टराई चढेको ना १ झ १६३३ नम्बरको स्कार्पियो सर्लाहीबाट कलैयातर्फ आउने क्रममा शनिबार राति ८ बजेर १५ मिनेटमा पूर्वपश्चिम राजमार्गको पसाह खोला पुल नजिकै दुर्घटनामा परेको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएपछि तत्काल उपचारका लागि वीरगञ्ज हेल्थकेयर अस्पतालमा भर्ना गरिएकामा उनलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं पठाइएकाे बाराका प्रहरी नायव उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिए । उनको टाउकोमा गम्भीर चोट लागेपछि शनिबार नै शल्यक्रिया गरिएको थियो ।
उनि सवार स्कार्पियो ट्र्याक्टरसँग ठक्कर खाँदा सशस्त्र प्रहरी बलका उपरीक्षक बलराम पोखरेलको घटनास्थलमै निधन भएको थियो । उनको शवलाई काठमाडौं पठाइसकिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।








