
इलाम । चिकित्सा शिक्षा सुधारको माग गर्दै १६ औँ पटक अनसन बसेका प्रा. डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ । अनसनको दोस्रो दिनको बेलुकीबाट स्वास्थ्यमा समस्या देखिएको डाक्टरहरुले बताएका छन्।
डाक्टरहरुका अनुसार डा. केसीको रक्तचाप घट्नुको साथै शरीरमा चिसो पसिना आउने, हात थर्थराउने समस्या देखिएको छ । साथै शुक्रबारदेखि उनको छाती दुख्न थालेको छ । त्यस्तै खोकी निरन्तर लागिरहेकाले त्यसले निमोनिया तथा अन्य संक्रमणको जोखिम बढ्ने देखिएको भन्दै चिकित्सकले सावधानी अपनाउन थालेका छन्।
उनलाई भेट्न आउने शुभचिन्तकहरुलाई अनसन परिसर परैबाट भेट्न आग्रह गरिएको छ । स्वास्थ्यकर्मीले रगत परीक्षणका लागि आग्रह गर्दा पनि उनले इन्कार गरेको बताइएको छ ।
केसी बुधबार साँझदेखि इलाममा अनसन बसेका हुन् । सरकारसँग भएको सहमति अनुसार चिकित्सा शिक्षा विधेयक संसदबाट पारित हुनुपर्ने उनको माग रहेको छ ।








