काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशन बुधबारबाट शुरु भएको छ । पहिलो बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताले बोले । बैठकमा सत्तापक्ष र प्रतिपक्ष आरोप—प्रत्यारोपमा उत्रिए । बैठकलाई सम्बोधन गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले महत्वपूर्ण उपलब्धिहरु हासिल गरेको दाबी गरे ।
वर्तमान स्थायी सरकारकै कारण सकारात्मक परिदृश्य देखा परेको भन्दै उनले यसलाई वेवास्ता गर्न नमिल्ने तर्क गरे । अध्यक्ष प्रचण्डले काँग्रेसका नेताले नेपाललाई हिन्दुराष्ट्र बनाउने कुरा उठाएको र हस्ताक्षर संकलन भएको विषयमा आलोचना गरे । यता, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एसिया प्यासिफिक समिटमा सरकार र सत्तारुढ दलका नेताको सहभागितालाई लिएर प्रश्न गरे ।
सरकार शान्ति सुरक्षा दिने, संघीयता कार्यान्वयन गर्ने कुरामा असफल भएको देउवाको आरोप छ । पहिले नै भईसकेको कामलाई पनि आफूले गरेको भन्दै सरकार र प्रधानमन्त्रीले जस लिने काम मात्र गरेको देउवाले आरोप लगाए ।








