
काठमाडाैँ । नेपाली काग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकार संविधान विपरित हिँडेको भन्दै संविधानको संरक्षणका लागि कांग्रेस बलियो हुनुपर्ने बताएका छन्।
शनिबारदेखि काठमाडौमा सुरु महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपसभापति गच्छदारले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान चपाउन थालेको आरोप लगाए। कम्युनिष्टको अधिनायकवादतर्फ मुलुकलाई लैजाने प्रयास भईरहेको भन्दै उनले त्यसविरुद्ध कांग्रेस लाग्नुपर्नेमा जोड दिए।
कम्युनिष्ट अधिनायकवाद आएमा संसदीय प्रजातन्त्र, जनताको अधिकार, प्रेस, स्वतन्त्र न्यायलयमाथि प्रहार हुने र संसदलाई पंगु बनाउने काम हुने भन्दै उनले प्रजातन्त्र बचाउनका लागि कांग्रेस बलियो हुनुपर्ने बताए । ओलीले कांग्रेसलाई भित्ताको साईनबोर्डमा थन्काईने भनेको उल्लेख गर्दै कांग्रेस कमजोर भए मुलुकमा लोकतन्त्र कमजोर हुने, संसदीय व्यवस्था पंगु हुने, न्यायलय कमजोर हुने भन्ने बुझेर त्यसको संरक्षणका लागि आफु कांग्रेसमा फर्किएर आएको स्पष्ट पारे। उनले कांग्रेसलाई काँध थाप्न आफू कांग्रेसमा आएको बताए।
पार्टी भित्रको गुट उपगुटका कारण कांग्रेस कमजोर बनेको भन्दै नेतृत्वलाई एकताको सन्देश दिन उनले आग्रह समेत गरे। वरिष्ठ नेता रामचन्द्र पौडेल र सभापति शेरबहादुर देउवाले एउटा प्लेटको फुरुनदाना बाँढेर खाएको उल्लेख गर्दै उनले दुवै नेताले सभाबाट एकताको सन्देश दिनुपर्ने बताए।
गच्छदारले एकताका लागि पटक पटक आग्रह गरेपछि सभापति देउवा र वरिष्ठ नेता पौडेल लगायतका नेताहरुले सभामा उठेर हात मिलाउदै एकताको सन्देश दिएका थिए।








