
काठमाडाैँ । विवादित एसिया प्यासेफिक समिट (सम्मेलन) अाजबाट काठमाडौंमा औपचारिक रूपमा सुरु भएको छ। कार्यक्रम अनौपचारिक रूपमा शुक्रबारबाटै हायात होटलमा सुरू भएको भएपनि सम्मेलनको औपचारिक उद्घाटन भने अाज गरिएको हो।
करिब पन्ध्र सय विदेशी अतिथि सहभागी हुने यस सम्मेलनमा आयोजकले नेपालका सबै राजनीतिक दलका नेताहरू, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूलाई निमन्त्रणा गरेको छ । क्रिश्चियन धर्मको प्रचार गर्ने संस्था युनिभर्सल फिस फेडरेसनले आयोजना गरेको कार्यक्रममा सरकारको सहभागीतालार्इ लिएर चाैतर्फि आलोचना भइरहेको छ।

सम्मेलनमा राजनीतिक, धार्मिक, शान्ति, विकास, सुशासन र सांसदको भूमिका, अन्तरधार्मिक संगठन र नागरिक समाजको भूमिका, जलवायु परिवर्तन, सञ्चारमाध्यमको भूमिकालगायतका विषयमा छलफल हुने तथा सम्मेलनले नेपालको पर्यटकीय प्रवद्र्धन गर्नाका साथै शान्तिप्रक्रिया र संविधान निर्माणपछिको रूपान्तरणबारे विश्वव्यापी सन्देश दिन मद्दत पुग्ने आयोजकले जनाएको छ।
सम्मेलनको नारा ‘विश्वका गम्भीर चुनौतीहरूमाथि सम्बोधनः अन्तरनिर्भरता, पारस्परिक समृद्धि र सर्वव्यापक मूल्य–मान्यता’ राखिएको छ। गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रम भए पनि सम्मेलनका सहभागीका लागि सरकारले ५५ लाख रुपैयाँ बजेट छुट्याएको छ।
आयोजक समितिका संयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एसिया प्रशान्त क्षेत्रका विद्यमान चुनौतीलाई सामना गर्ने सन्दर्भमा गौतम बुद्धको जन्मस्थल नेपालमा यो सम्मेलन हुनुको विशेष महत्व रहेको बताएका छन्।








