काठमाडौं । सरकारले पप्पु कन्स्ट्रक्सनलाई सम्पूर्ण टेण्डर प्रक्रियामा रोक लगाएको छ । ठेक्का सम्झौता अनुसार समयमै काम नसकेको भन्दै कोस्टाल पप्पु जेभीलाई कालोसूचीमा राख्न सिक्टा सिंचाइ आयोजनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको थियो ।
सिक्टाको सिफारिस अनुसार कार्यालयले पप्पु कन्स्ट्रक्सनलाई कुनै पनि टेण्डर प्रक्रियामा भाग लिन नपाउने गरी रोक लगाइएको हो । सुस्त गतिमा काम गरिरहेको पप्पुले सम्झौता अनुसार काम गर्न नसकेको भन्दै सिक्टा सिँचाइ आयोजनाले पप्पुसँग कात्तिक २१ गते सम्झैता तोडेको थियो । लगत्तै उक्त आयोजनाले पप्पुलाई कालो सूचिमा राख्ने निर्णय गरी सदरका लागि पिपिएमओमा पठाएको थियो ।
मंगलबार कार्यालयले जारी गरेको सूचनामा सिक्टा आयोजनाले गरेको उजुरी अध्ययन गर्दा पप्पु कन्स्ट्रक्सनलाई तत्काल अन्य खरिद कार्यको जिम्मेवारी दिँदा मुलुकलाई थप हानी नोक्सानी पर्न सक्ने देखिएको उल्लेख छ ।
पप्पुलाई थप जिम्मेवारी दिँदा त्यसबाट अबरोध सिर्जना भई सर्वसाधारणमा थप हानि हुुने भन्दै कारबाही प्रकिया टुंगो नलागेसम्म कम्पनीलाई खरिद कार्यमा सहभागी हुन रोक लगाएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।
कालोसूचीबाट नहटेसम्म पप्पुलाई कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा सहभागी नगराउन पनि कार्यालयले आग्रह गरेको छ । पप्पुले सन् २०१६ जुन २० मा ९८ करोड ८१ लाखमा २३ किलोमिटर लामो डुडुवा नहर बनाउन सिक्टा सिँचाइसँग ठेक्का लिएकोमा सम्झौता अवधि सकिँदासम्म ७ प्रतिशत मात्र काम गरेको आयोजना कार्यालयको भनाइ छ ।









