काठमाडौं । निर्मला पन्तको हत्याबारे अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी नायब निरीक्षक हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्वनमा परेका छन् । प्रहरी प्रधान कार्यालयले कञ्चनपुरमा गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया पन्तको हत्याबारे छानविन समितिको सिफारिशमा घटनास्थल अनुसन्धान अधिकृतका रुपमा खटिएका धामी र साउदलाई निलम्वन गरेको हो ।
घटनास्थल अनुसन्धानको क्रममा गम्भीर लापरवाही गरेको पाइएपछि उनीहरुलाई निलम्बन गरिएको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले जानकारी दिए । प्रहरी नियमावली २०७१ को नियम ११५ को उपनियम ६ (क) र (ग) अनुसार उनीहरुलाई कारवाही गरिएको हो । यसअघि कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, डिएसपीद्वय अंगुर जिसी र ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षकद्वय जगदीश भट्ट र एकेन्द्र खड्का तथा प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरिएको थियो ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टाखाम बस्ने पन्तको गएको साउन १० गते बलात्कारपछि हत्या भएको थियो । उनको शव साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो । घटना घटेको दुई महिना बितिसक्दा पनि अपराधी पत्ता लाग्न सकेको छैन ।
मुलुककै ध्यान कञ्चनपुरमा केन्द्रित हुनुका साथै सबैतिर निर्मलाका हत्यारालाई कारवाहीको माग गर्दै विरोध एवं दवाव कार्यक्रमहरू भइरहेका बेला घटनाको अनुसन्धानमा खटिएको प्रहरीको अनुसन्धान टोली, प्रहरीकै केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)को टोलीले अनुसन्धान तीव्र पारे पनि अभियुक्त नजिक भने पुग्नसकेको छैन ।








