समितिपिच्छे निर्देशनको होड: सरकारलाई एउटै विषयमा फरक-फरक निर्देशन

काठमाडौं । संघीय संसद्का समितिहरूले सरकारलाई एउटै विषयमा फरक–फरक निर्देशन दिने गरेका छन् । समितिहरूबीच समन्वय नहुँदा निर्देशन पाउने सरकारी निकाय अन्योलमा पर्न थालेका छन् । सरकारी अधिकारीलाई एउटै विषयमा दिनहुँ फरक–फरक समितिमा सांसदका प्रश्नको जवाफ दिन भ्याइनभ्याइ छ ।

चाडपर्वमा बजार अनुगमन र कारबाहीका विषयमै राष्ट्रिय सभा र प्रतिनिधिसभाका तीन समितिले सरकारलाई तीनथरी निर्देशन दिएका छन् । निजगढ विमानस्थलबारे राष्ट्रिय सभाको राष्ट्रिय सरोकार एवं समन्वय समिति र प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्देशन पनि फरक छ । सरोकार समितिले विवाद समाधान गरेर विमानस्थलको काम तत्काल अघि बढाउन निर्देशन दिएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिले विमानस्थल निर्माणमा उत्पन्न वातावरणीय विवाद अध्ययन गर्न उपसमिति गठन गरेको छ ।

संसद्का समितिबीच चर्चामा रहेका ‘इस्यु’ मा कसले पहिला छलफल चलाउने भन्ने होडबाजी छ । उनीहरु कार्यक्षेत्र मिचेर सरकारलाई निर्देशन दिइरहेका छन् । एउटै विषयका फरक–फरक निर्देशनले कार्यान्वयन गर्नुपर्ने निकाय रनभुल्लमा छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले असोज पहिलो साता दसैंमा सर्वसाधारणलाई आवश्यक सामग्री व्यवस्थापन र अनुगमन प्रभावकारी बनाउन सरोकारवाला र सरकारी निकायलाई राखेर बैठक गर्‍यो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका पदाधिकारीले सहज आपूर्ति, सस्तो बजार र अनुगमनको कार्ययोजना सुनाए । सांसदहरूले उपभोक्तालाई सहजै र सस्तोमा सामान उपलब्ध गराउन निर्देशन दिए ।

असोज ५ मा राष्ट्रिय सभाको राष्ट्रिय सरोकार समितिले मन्त्रालय र विभाग कर्मचारीलाई बोलाएर आपूर्ति व्यवस्थाकै बारेमा फेरि छलफल चलायो । चाडपर्वमा शान्तिसुरक्षा र दैनिक उपभोग्य वस्तको कृत्रिम अभाव हुन नदिई कालोबजारी रोक्न गृह मन्त्रालय र आपूर्ति मन्त्रालयलाई निर्देशन दियो । समितिले यात्रुलाई सहज आवागमन व्यवस्थापन मिलाउन यातायात मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि गर्‍यो । यो निर्णय सम्बन्धित मन्त्रालय नपुग्दै असोज १५ मा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले पनि यस्तै निर्णय गर्‍यो ।

समितिको पहिलो निर्णय नै दैनिक उपभोग्य वस्तुको अभाव र मूल्यवृद्धि हुन नदिन, कार्टेलिङ र ठगीका गुनासो सम्बोधन गरी एक साताभित्र विवरण उपलब्ध गराउन आपूर्ति मन्त्रालयलाई निर्देशन दिने थियो । सवारीसाधनमा दुई जना चालक राख्ने, २० वर्ष पुराना सवारीसाधनलाई प्रतिबन्ध गर्ने, सिट क्षमताभन्दा बढी यात्रु चढाउन नदिने व्यवस्था गर्न यातायात मन्त्रालयलाई निर्देशन दियो । यही समितिले दसैंमा सवारीसाधनको टिकट सहज रूपमा उपलब्ध गराउन र चिनीको मूल्य ६३ रुपैयाँ तोक्न सरकारलाई निर्देशन दिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले लेखा समितिको निर्देशन र छलफलको विषयमाथि नै प्रश्न उठाएका छन् । समिति सदस्यहरूले चिनीको भाउ बढाउन चलखेल गरेको भनी आफूमाथि लगाएको आरोपबारे छानबिन गर्न यादवले सभामुखलाई पत्र लेखेका छन् ।

विकास समितिमा सभापति कल्याणीकुमारी खड्काले निर्देशन दिने क्रममा सञ्चार तथा सूचनामन्त्री गोकुल बाँस्कोटाले हस्तक्षेप गरे । त्यति हुँदा पनि समितिले एक स्वरमा प्रतिवाद गर्न सकेन । संसदका पूर्वसचिव मुकुन्द शर्मा समिति सदस्यहरूमा आ–आफ्नो कार्यक्षेत्र, जिम्मेवारी र विषयप्रति अध्ययनको कमीका कारण यस्तो समस्या आएको बताउँछन् । ‘सदस्यहरूमा आ–आफ्नो कार्यक्षेत्र र विषयप्रति अध्ययनको कमी, सचिवको भूमिका प्रभावकारी नहुनु आदि कारणले समितिका कार्यक्षेत्र तथा निर्णय बाझिने र सरकारले निर्देशन कार्यान्वयनमा अटेरी गर्ने समस्या उत्पन्न भइरहेको हो,’ उनले भने ।

आपूर्ति मन्त्रालयका एक उच्च अधिकारीले कुन–कुन समितिको बैठकमा जाने, कसको निर्णय र निर्देशन कार्यान्वयन गर्ने भन्ने अन्योल रहेको बताए । ‘निर्देशन पनि एउटा मात्रै समितिले दिए पो हुन्थ्यो,’ उनले भने, ‘निर्देशन धमाधम आइरहेका छन् । कार्यान्वयन पनि कुन समितिको गर्ने, अन्योल छ ।’ चाडपर्वमा आपूर्ति र यातायात व्यवस्थापनमा तीन फरक समितिले निर्देशन दिएको यो पहिलो घटना भने होइन ।

प्रतिनिधिसभाको विकास समिति र राष्ट्रिय सभाको सरोकार समितिको काम पनि बाझिने गरेको छ । सरोकार समितिको टोली हालै मेलम्ची खानेपानी आयोजना ढिलो हुनुको कारण र वर्तमान अवस्थाको स्थलगत अध्ययन गरेर फर्केको छ । यही विषयमा विकास समितिले पनि अनुगमनमा जाने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिले असोज १४ गते नागरिक उड्डयन मन्त्रालय र वन तथा वातावरण मन्त्रालयलाई निजगढ विमानस्थलसम्बन्धी कागजपत्र पेस गर्न निर्देशन दिने निर्णय गर्‍यो । यही बैठकले निजगढलगायत विमानस्थल निर्माणका सम्बन्धमा अध्ययन गर्न पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल संयोजकत्वको उपसमिति गठन गरेको छ ।

उपसमितिलाई विमानस्थल बन्ने ठाउँको अवलोकन र अध्ययन गरेर सुझाव दिने जिम्मेवारी तोकिएको छ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले असोज १५ गते पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई रूख कटानको विषय टुंग्याई निजगढ विमानस्थलको काम तत्काल अघि बढाउन निर्देशन दिएको छ । समितिले निर्माणस्थल अवलोकनमा जाने तयारीसमेत गरेको छ । आपसी तालमेल नहुँदा एउटै विषयमा दुई समितिले अध्ययन गरिरहेका छन् । पर्यटनमन्त्री अधिकारीले दुई समितिको फरक–फरक निर्देशनले काम गर्न अन्योल भएको बताए । ‘एउटै विषयमा समितिहरूको संयुक्त बैठक गर्न सकिन्थ्यो । तर फरक–फरक निर्देशन दिएका छन्,’ उनले भने, ‘यसले हामीलाई काम गर्न गाह्रो हुन्छ । कसको निर्देशन मान्ने रु कसको नमान्ने ?’

यसअघि अर्थ, विकास र कृषि तथा जलस्रोत समितिले राष्ट्रिय गौरवका योजना कार्यान्वयनबारे संयुक्त बैठक गरेका थिए । संसद् नियमावलीमा हरेक समितिको छुट्टाछुट्टै कार्यक्षेत्र तोकिएको हुन्छ । कार्यक्षेत्रबाहिर गए अर्को समितिमाथि हस्तक्षेप भएको मानिने व्यवस्था छ । नियमावलीअनुसार उपभोक्ताको विषय प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको कार्यक्षेत्रभित्र पर्छ । तर तहगत राज्य संरचनाको विकासमा समन्वय, राष्ट्रिय सम्पदा, मानव अधिकार तथा परराष्ट्र सम्बन्ध, राष्ट्रिय सुरक्षा र संवैधानिक आयोगसम्बन्धी विषय हेर्ने राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले समेत उपभोक्ताका विषयमा निर्देशन दिएको छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन र उपभोक्ता हितसम्बन्धी बैठक गर्न सक्छ । यो समितिको कार्यक्षेत्रमा सार्वजनिक लेखा समितिले समेत हस्तक्षेप गरेको छ । सार्वजनिक लेखा र महालेखा परीक्षकको वार्षिक प्रतिवेदन हेर्ने लेखा समितिले बजार अनुगमनदेखि मूल्य निर्धारणसम्मको निर्देशन दिइरहेको छ ।

प्रतिनिधिसभा नियमावलीको नियम १९२ मा समितिका कार्यक्षेत्र समेटिएको छ । उपनियम २ मा भनिएको छ, ‘समितिले अन्य समितिको कार्यक्षेत्रमा छलफल, अध्ययन एवं अनुगमन गर्नुपरे सभामुखको पूर्वस्वीकृति लिनुपर्नेछ ।’ तर समितिले सभामुखको अनुमति नलिई कार्यक्षेत्र मिचिरहेका छन् । हरेक दिन एउटाको कार्यक्षेत्रमा अर्को समितिले निर्देशन दिइरहँदा पनि सभामुख र राष्ट्रिय सभा अध्यक्षले समन्वय नगरेको सांसदहरूको आरोप छ । समितिको प्रभावकारिता र कार्य मूल्यांकन गर्न सभामुख र अध्यक्षको संयोजकत्वमा समिति सभापतिको बैठक राख्नुपर्छ । सभापति चयनलगत्तै बैठक राखेर कार्यक्षेत्र स्पष्ट पार्नुपर्नेमा त्यसो नगर्दा समस्या देखिएको हो ।

सभामुख कृष्णबहादुर महराले समितिहरूले अधिकारक्षेत्रबाहिर गएर काम गरेको जानकारी आफूलाई पनि भएको बताए । ‘यस्तो कार्य रोक्न सभापतिहरूसित परामर्श गर्छौं । क्षेत्राधिकार ओभरल्यापिङ हुन दिँदैनौँ,’ संसदीय मामिला पत्रकार समाजद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनले भने, ‘नियमावली बनाउँदा नै क्षेत्राधिकारमा ख्याल गरेका छौं । त्यसैअनुसार अघि बढ्नुपर्छ ।’

संसदका पूर्वसचिव शर्मा सभापतिहरूबीच चर्चामा आउन जुनसुकै विषयमा छलफल गरेर निर्देशन दिने प्रवृत्ति रहेको बताउँछन् । ‘समिति सभापतिलाई काम गर्नुअघि हिजोको अभ्यास र प्रतिस्पर्धा, नियमावलीको व्यवस्था जानकारी गराउनुपथ्र्यो,’ उनले भने, ‘कार्यक्षेत्रको ज्ञान नहुँदा र चर्चामा रहेका विषय उठाउन खोज्दा एउटाको कार्यक्षेत्रमा अर्को समितिको हस्तक्षेप हुने देखिन्छ ।’ नियमावली अध्ययन गरे समस्या नहुने उनले बताए ।

‘सभापतिलाई बुझाउने जिम्मेवारी समितिका सचिवको हो । अहिले सचिव भएका केही साथी विगतमा पनि त्यही भूमिकामा हुनुहुन्थ्यो,’ शर्माले भने, ‘सचिवले सभापति र सदस्यहरूसँग झगडा गर्ने होइन । नियम बुझाउन सक्नुपर्छ ।’ एउटै विषयमा धेरै समितिले निर्देशन दिने प्रवृत्तिले संसदीय मर्यादामा आँच आउन सक्ने उनको भनाइ छ ।

पछिल्लो संविधानसभाकालमा एनसेलको लाभकर प्रकरणमा विकास, अर्थ र लेखा समितिले छलफल गरेका थिए । अर्थ समितिले लाभकरको विषय नटुंगिएसम्म एनसेललाई फोरजी सेवा विस्तार गर्न नदिन सरकारलाई निर्देशन दिएको थियो । लेखा समितिले लाभकरको विषय नटुंगिएसम्म लाभांश लैजान नदिन निर्देशन दिएको थियो । विकास समिति भने लाभकरबारे रहस्यजनक ढंगले मौन रह्यो । बरु एनसेललाई फोरजी सेवा विस्तार गर्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दियो ।

प्राधिकरणले विकास समितिको निर्देशन मानेर फोरजीको स्वीकृति दियो । ‘धेरै समितिबाट फरक निर्देशन आउँदा सरकारले जुन सजिलो हुन्छ त्यही कार्यान्वयन गर्छ,’ संसद् सचिवालयका एक सहसचिवले भने, ‘त्यसैले समितिले आफ्नो कार्यक्षेत्रबाहिर गएर निर्देशन दिनु हुँदैन ।’ आजको कान्तिपुरमा खवर छ।

सम्बन्धित शिर्षकहरु