काठमाडौं । लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको नाममा खुलेआम देश विखण्डनको अभियान चलाउँदै आएका सिके राउतले संविधान दिवसको दिन शक्ति प्रदर्शन गर्ने तयारी थालेका छन् । स्रविधान घोषणा भएसँगै विरोध गर्दै आएका राउतले स्रविधान दिवसको दिन विरोध प्रदर्शन गर्ने तयारीमा लागेका स्रोतले जनाएको छ ।
‘चलु जनकपुर भरु जनकपुर’ प्रचार गर्दै आगामी असोज ३ गते पनि जनकपुरलाई भर्ने तयारी भइरहेको छ । राउतका एक जना कार्यकर्ताका अनुसार गाउँगाउँबाट मानिस ल्याउन ट्रयाक्टर र बसको व्यवस्था गरिँदैछ । ‘गाउँगाउँमा कर बढ्यो, शहीदको सपना पूरा भएन, जनताले अधिकार प्राप्तिका लागि बलिदानी दिए । तर, राजपा र फोरम सत्तामै व्यस्त रहेको अवस्था छ, संविधान संशोधन पनि भएन, त्यसैले शहीदहरूको श्रद्धान्जलि दिन र संविधानको विरोधमा कालो दिवस मनाउन जनकपुर जाऔं भन्दै घरदैलो अभियान गरिरहेका जनाएका छन् । ।
सीके राउतले असोज ३ गते कार्यक्रम तय गरेर गाउँगाउँबाट जनतालाई जनकपुर आएर संविधानको विरोधमा कालो दिवस मनाउन आह्वान गरेका छन् । कार्यक्रम सफल पार्नका लागि राउतका समर्थक र कार्यकर्ताले महिना दिनदेखि तयारी गरिरहेका छन् । गाउँगाउँमा कार्यकर्ताले घरदैलो अभियान सञ्चालन गरिरहेका छन् । विद्यालयमा गएर विद्यार्थीलाई सहभागी हुन अनुरोध गरिरहेका छन् । धनुषा, महोत्तरी र सिरहा गरी ३ जिल्लाका मानिसलाई जनकपुरमा ल्याउने राउतको तयारी छ ।
३ वर्षअघि २०७२ भदौ २५ गते तत्कालीन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलनको क्रममा ‘चलु जनकपुर भरु जनकपुर’ भन्ने नारा दिएको थियो । संविधान जारी हुने पूर्वसन्ध्यामा अहिलेको राजपा नेपाल र फोरम नेपाल सम्मिलित मोर्चाले ‘चलु जनकपुर भरु जनकपुर’ नारा दिएर विरोध प्रदर्शनका लागि धनुषाका गाउँ–गाउँबाट सदरमुकाम जनकपुर केन्द्रित विरोध प्रदर्शन गर्न जनतालाई आह्वान गरेको थियो । जनकपुर प्रवेश गर्ने प्रत्येक नाकामार्फत् केन्द्रीय नेताको अगुवाइमा जनकपुरमा प्रवेश गर्ने र आन्दोलन गर्दै विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको थियो । जुन कार्यक्रम अनुसार त्यतिबेला जनकपुर अशान्त भएको थियो । प्रशासनले गोली नै चलाएको थियो, जसमा ३ जनाको मृत्यु भयो ।








