
काठमाडाैँ । दोस्रो विश्वयुद्धका खलनायकका रुपमा चित्रित एडल्फ हिट्लरले प्रचलनमा ल्याएपनि अहिले प्रतिबन्धित ‘नाजी सलाम’ फेरि चर्चामा आएको छ। ‘नाजी सलाम’ गर्नेलाई जर्मनीमा कानुनी कारवाही हुने भएपनि हिटलरको पतन भएको ७३ वर्षपछि जर्मनीमा ‘नाजी सलाम’ ले फेरि चर्चा पाएको हो।
यसले चर्चा पाउनुको कारण हो, दुई आप्रवासीद्वारा जर्मनीका एक नागरिकको हत्या। त्यसपछि भड्किएको द्वन्द्वका कारण ‘नाजी सलाम’ ले चर्चा पायो। हत्याको विरोधस्वरुप प्रदर्शनकारीहरुले चेम्निट्ज शहरमा नाजी सलाम गरेको ब्वाँसोको सालिक निर्माण गरेपछि यसले विश्वभर चर्चा पाएको हो।
जर्मनीका राष्ट्रवादी मानिएको ‘नेसनल डेमोक्रेटिक पार्टी’ ले पत्रकार र आप्रवासीहरुलाई तर्साउन ‘नाजी सलाम’ को प्रयोग गरेको आरोप लगाएको छ। ‘नेसनल डेमोक्रेटिक पार्टी’ लाई जर्मनीमा ‘नयाँ नाजी’ को संज्ञा दिने गरिन्छ। तत्कालीन नाजी समुहले आफूलाई ब्वाँसोका संज्ञा दिन्थ्यो। सोही कारण ब्वाँसोको सालिक निर्माण गरिएको जनाइएको छ।

चित्रकार रेनर ओपोल्काले बनाएको त्यस सालिक बिहिबार रातिसम्म चेम्निट्जमा रहेको कार्ल मार्क्सको सालिक छेउमा राखिने बताइएको छ। ‘नाजी सलाम’ गरेको ब्वाँसोको सालिक निर्माण भएपछि यस कार्यको जर्मनभर विरोध भएको छ। ब्वाँसोको नाजी सलामले जर्मनीको शान्ति भड्किने विभिन्न अधिकारकर्मीले धारणा राखेका छन्।








