
कञ्चनपुर । कञ्चनपुरकी बालिका निर्मलाको बलात्कार र हत्याका मुख्य आरोपी भनेर प्रहरीले सार्वजनिक गरेको दिलीपसिंह विष्टको डिएनए मेल नखाएपछि अदालतको आदेशमा रिहा भएका छन्। निर्मला पन्तको भेजाइनल स्वाब (योनीभित्रको तरलबस्तु)मा रहेको बलात्कारीको डीएनए र दिलिपसिंह विष्टको डीएनए फरक भएको पाइएको हो। विधि विज्ञान प्रयोगशालाले दिलीपको डीएनए नमिलेको रिपोर्ट कञ्चनपुर जिल्ला अदालतमा पेश गरेको थियो।
डीएनए नमिलेपछि दिलीपलाई आजै हाजिरी जमानीमा रिहा गर्न अदालतबाट आदेश भएको हो । यस्तै, बम दिदीबहिनीलाई पनि हिरासतमुक्त गर्न कञ्चनपुर जिल्ला अदालतले आदेश दिएको छ। दिदी बबितालाई तीस हजार रुपैयाँ धरौटी र बहिनी रोशनीलाई विना धरौटी छोड्न आदेश भएको हो ।
निर्मला पन्तको बलात्कार र हत्या भएको २६ औं दिन भदौ ४ गते विष्टलाई प्रहरीले मुख्य आरोपीका रुपमा सार्वजनिक गरेको थियो। तर, प्रहरीले घटना अन्यत्रै मोड्न मानसिक सन्तुलन ठिक नभएका दिलीपलाई मुख्य आरोपी बनाएर सार्वजनिक गरेर फसाउन खोजिएको भन्दै महेन्द्रनगरमा आन्दोलन चर्केको थियो। प्रहरीले वास्तविक अपराधी उम्काउन विष्टलाई फसाएको स्थानीय र पीडित परिवारले आरोप लगाउँदै आएका छन्।
यद्यपी दिलीपको मानसिक सन्तुलन नबिग्रेको देखिएको छ । दिलीपलाई स्वास्थ्य परीक्षणका लागि काठमाडौं ल्याइएको थियो। शिक्षण अस्पतालमा १० दिनसम्म राखेर स्वास्थ्य परीक्षण गरिएका विष्टलाई अघिल्लो शुक्रबार महेन्द्रनगर लगिएको थियो। उनलाई आइतबार कञ्चनपुर जिल्ला अदालतले चार दिनको म्याद थपेको थियो।
दिलीपलाई उनका दाजु खडकसिंह विष्टको जमानीमा छोडिएको र बबिता र रोशनी बमलाई बाबु दिपेन्द्रबहादुर बमको जिम्मा लगाइएको छ ।








