उद्यम गर्ने मन छ ? पैसा छैन,चिन्ता नलिनुस् अब सरकारले नै गरिदिन्छ लगानी

काठमाडौं । सरकारले युवा स्वरोजगारका लागि केही युवालाई विनाधितो ऋण लगानी गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले युवा स्वरोजगार उत्पादन तथा उद्यमशीलताको विकासका लागि विनाधितो ऋण लगानी गर्ने बताएका छन् ।

किङ्स कलेजले आयोजना गरेको ‘युनस सोसियल विजिनेस च्यालेञ्ज २०१८’ को यहाँ उद्घाटन गर्दै मन्त्री विष्टले भने, ‘हजारौँ युवामा श्रम र उद्यमशीलताबाट टाढिने मानसिकताका कारण बेरोजगारीको समस्या बढेको छ । सानो पूँजीको अभावमा पनि कोही युवा उद्यमशील बन्नबाट बञ्चित हुनुपर्ने छैन । केही हजार युवालाई स्वरोजगार बनाउने गरी विनाधितो पाँचदेखि १० लाख ऋण लगानी गर्न सरकार तयार छ ।’

युवा स्वरोजगारका लागि चालू आवमा सरकारले बजेट विनियोजन गरेको उल्लेख गर्दै मन्त्री विष्टले उद्यमशील मानसिकताका साथ युवाको सक्रिय सहभागिता हुन जरुरी रहेको बताए । श्रमलाई सम्मान गर्ने मानसिकताको अभावले उद्यमशीलताको विकास हुन नसकेको बताउँदै उनले सामान्य पढे लेखेका युवामा सानो काम गर्नु हुन्न भन्ने नकारात्मक सोच नै चुनौती बनेको उल्लेख गरे ।

किङ्स कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्यालले युवा उद्यमशीलताको प्रवद्र्धन गर्ने उद्देश्यले तीन वर्षदेखि ऊर्जा, कृषि, पर्यटन, महिला सहभागितालगायत विषयमा युवा उद्यमशीलता विकास र सामाजिक दायित्व निर्वाहका लागि प्रोत्साहन गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

सोसियल विजनेस प्रतियोगिताका लागि यो पटक देशका विभिन्न शहरबाट ५५ वटा युवा उद्यमी समूहले आवेदन दिएकामा विभिन्न चरणमा छनोट भई १० वटा समूह अन्तिम प्रतिष्पर्धा पुगेका छन् । यीमध्ये विजेता पाँच समूहलाई विभिन्न पाँच शीर्षक क्रमशः प्रतियोगिताको शीर्षक विजेतालाई एक लाख, दिगो कृषिलाई ४५ हजार, दिगो पर्यटनलाई ५० हजार, महिला सहभागितालाई ५० हजार र वैकल्पिक ऊर्जालाई ४० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु