ओली र देउवा दुवै असफल भएको काँग्रेस नेता सिंहको आरोप

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार पूर्णरुपमा असफल भएको दाबी गरेका छन् । मंगलादेवी सिंहको २२ औं स्मृति दिवसको अवसरमा आइतबार काठमाडौंको शोभा भगवतीमा नेपाल महिला संघ काठमाडौं जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा नेता सिंहले सरकार सबै क्षेत्रमा असफल भएको बताए । पानीजहाज चलाउने सपना देखाउनेले सडकका खाल्डाखुल्डीसमेत पुर्न नसकेको भन्दै उनले सरकारको आलोचना पनि गरे ।

‘दुई तिहाइ बल भएको सरकारबारे उल्लेख गर्दै उनले भने, ‘सरकार कुनै क्षेत्रमा पनि सफल हुन सकेको छैन । दुई तिहाइको सरकार आएदेखि बढेको मूल्य हेर्दा पनि जनतालाई मार परेको छ ।’ बलात्कार र हत्याका घटनाहरु नरोकिएको, शान्ति सुरक्षा दिन नसकेको, मूल्यवृद्धि रोक्न नसकेको र विकासका कुरामात्र गरेको तर काम नगरेकोलाई उनले सरकारको असफलताको पुष्टी हुन्छ, भने ।

‘ल एण्ड अर्डरको कुरामा पनि पूर्णरुपमा यो सरकार विफल भएको छ । जनतालाई शान्ति सुरक्षा दिने कुरामा पनि शतप्रतिशत विफल भएको छ,’ नेता सिंहले भने । त्यस्तै फरक प्रसंगमा नेता सिंहले काँग्रेस महासमितिको बैठक पूर्वघोषित मितिभन्दा तीन महिना पछि सार्ने निर्णय गलत भएको बताएका छन् । यसबाट पार्टी नेतृत्व असक्षम छ भन्ने थप पुष्टि भएको उनले बताए ।

काँग्रेसको केन्द्रीय समितिको शनिबारको बैठकले भदौमा हुने भनिएको महासमिति बैठक मंसिरमा गर्ने निर्णय गरेको थियो । यसअघि सभापति शेरबहादुर देउवाले नै भदौमा महासमिति बैठक गराउने घोषणा गरेका थिए ।

नेता सिंहले भने, ‘हिजोको निर्णयबाट विगतमा काँग्रेसको जुन छवि थियो, त्यो छविमा ह्रास आएको छ । यसबाट लिडरसीपमा पार्टीलाई सहमतिका साथ, समझदारीका साथ अगाडि बढाउन नसक्ने कमजोरी भएको स्पष्ट हुन्छ ।’

उनले अगाडि भने, ‘डेट दिने र त्यसलाई सार्दै काम भयो । वर्तमान काँग्रेसको नेतृत्व सम्हालेका पार्टी सभापति लगायतका नेताहरुबाट काँग्रेसको विगतको इतिहासमा कहिल्यै नभएको कुराहरु भयो । यसलाई विशेषरुपमा नेतृत्वकै कमजोरीको रुपमा हामी लिन्छौं ।’

उनले कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले महासमिति बैठकको मिति सार्ने बहुमतको निर्णयलाई भने आफूहरुले स्वीकारेको बताए । तर, यस्ता निर्णयको जनताले मूल्यांकन गरिरहेको उनले बताए । उनले भने, ‘डेमोक्रेटिक पार्टी हो, बहुमतको डिसिजनलाई हामी मान्छौं । तर पब्लिकले पनि त जजमेन्ट गरिरहेको हुन्छ नि त । आम जनताले के भनिरहेको छ त भन्दाखेरि कांग्रेस, पहिलाको कांग्रेस रहेन अब ।’

सम्बन्धित शिर्षकहरु