मनिषाको जन्मदिन पार्टी सुटुक्क मुम्बईमा

काठमाडाैँ । बलिउडकी नेपाली अभिनेत्री मनिषा कोइरालाले मुम्बईमा आफ्नो ४८ औं जन्मदिन मनाएकी छिन्। हालै सञ्जय दत्तको बायोपिक ‘सञ्जु’ मा काम गरेपछि बलिउडमा मनिषाको फेरि चर्चा सुरु भएको छ।

पछिल्लो समय बलिउडमा खासै सक्रिय नभएकी मनिषाको जन्मदिन पार्टीमा अभिनेत्री रेखा, निर्माता विधु विनोद चोपडा, फेसन डिजाइर मनिष मल्होत्रा लगायतका केही सिमित कलाकारहरुको उपस्थिती थियो।

छोरीको जन्मदिन मनाउन मनिषाकी आमा सुष्मा कोइराला पनि मुम्बई पुगेकी थिइन् भने बाबु प्रकाश कोइराला जन्मदिन पार्टीमा पुगेका थिएनन्। सानो जमघटमा मनाइएको जन्मदिनका अवसरमा मनिषा खुशी देखिएकी थिइन्।

कुनै समय बलिउडमा निकै प्रभाव राख्न सफल मनिषा कोइरालाले आफूभन्दा ६ वर्ष कान्छा सम्राट दहालसँग सन् २०१० मा विवाह गरेकी थिइन्। दहालसँगको दाम्पत्य जीवन सफल नभएपछि सम्बन्ध विच्छेद गरेकी थिइन् भने उनले क्यान्सरको पनि सामना गर्नु परेको थियो।

बलिउडका नाना पाटेकर लगायतका केही कलाकारसँग नाम समेत जोडिएकी मनिषा पछिल्लो समय नेपाल र मुम्बईमा बस्ने गरेका छन्।

सम्बन्धित शिर्षकहरु