
काठमाडाैँ । आज काठमाडौं उपत्यकासहित देशका केही भागमा भारी वर्षा हुने जल तथा मौसमविद्ले बताएका छन्। जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद विभूति पोखरेलले आज देशभर बदली भई हल्कादेखि मध्यम वर्षा हुने संभावना रहेको जानकारी दिइन्।
उनका अनुसार काठमाडौं उपत्यकासहित देशको मध्य भागमा स्थानमा ठूलो वर्षा हुने संभावना छ। आज विशेषगरी पूर्वी र पश्चिमी क्षेत्रका एक/दुई स्थानमा ठूलो वर्षा हुने संभावना रहेको मौसमविद् पोखरेलको भनाइ छ। हल्का तथा मध्यम खालको वर्षा भने देशभर नै हुने उनले बताइन्।
ठूलो पानी पर्ने संभावना रहेका क्षेत्रका बासिन्दाले भने बाढीपहिरोबाट सतर्क रहन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। यसैबीच बाढी पूर्वानुमान शाखाले भने हाल देशको कुनै पनि नदीनालाहरुमा खतरातह भन्दा माथि बहाब नरहेको जनाएको छ।
भाेलि बेलुकीसम्म खतरा तह पार गर्ने संभावना कम रहेको शाखाले जारी गरेको सूचनामा उल्लेख छ। तर देशैभर हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको संभावना भएकोले स-साना खोलानाला आसपास सतर्कता अपनाउन आग्रह गरिएको छ।








