बंगलादेशमा पढ्ने मेडिकल स्टुडेन्टद्वारा आमरण अनशन बस्ने चेतावनी

काठमाडौं । नेप्लिज मेडिकल स्टुडेन्ट एशोसिएशन बंगलादेशका अध्यक्ष नविन यादवले चिकित्सा शिक्षा अध्ययन गर्न बिदेशमा पुगेका विद्यार्थीहरुको बारेमा उठेका प्रश्न र समस्याहरु ७२ घण्टाभित्र सरकारले सम्बोधन गर्ने प्रयास नथाले कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

आईतबार रिपोर्टर्स क्लब नेपालमा एशोसिएशनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले यस्तो चेतावनी दिएका हुन ।

उनले भने, ‘नेपाली समाजले कुनैपनि कुराको परिणाममात्रै देख्छ तर त्यसको पछाडिको कारण कहिल्यै जाँन्दैन, वर्तमान समयमा राज्यका विभिन्न स्थानमा बसेर काम गरिसकेका व्यक्तिहरुले नै विदेशमा चिकित्सा शिक्षा अध्ययन गर्न पुगेका विद्यार्थीहरुको अस्तित्व र भविष्यमाथि विभिन्न प्रकारका प्रश्नहरु खडा गर्नुभएको स्थिति छ ।’

अध्यक्ष यादवले अघि थपे, ‘अहिले चिकित्सा शिक्षा अध्ययन गर्न ८ हजार नेपाली विद्यार्थीहरु विदेशमा छन्, तिनीहरुसँग नेपालका एजुकेशन कन्सल्टेन्सीहरुले चर्को शुल्क लिने गरेका छन्, तर विदेशमा पुगेका विद्यार्थीहरुको अवस्थाका बारेमा कुनै जानकारी नलिने, सोधिखोजि नगर्ने स्थिति छ, यसका बारेमा सरकारले तत्काल छानविन गर्नुपर्छ, नेपाली मेडिकल काउन्सिल र शिक्षा मन्त्रालयको स्विकृतिमा विदेशमा पढ्ने जाने तर प्रायजसो विदेशका कलेजहरु कालो सूचिमा परिसकेको हुने र विद्यार्थीहरु कालो सूचिमा परेका कलेजहरुमा पढ्न बाध्य हुने स्थिति छ, बंगलादेशमा ३७ वटा मेडिकल कलेजहरु कालो सूचिमा परेका छन।’

नेपाल मेडिकल काउन्सिल र एजुकेशन कनसल्टेन्सीको मिलेमतोमा मापदण्ड नपुगेका बिदेशी कलेजहरुलाई स्विकृति दिने गरेका दाबी गर्दै उनले भने, ‘कालो सूचिमा परेका ८ देखि १० वटा मेडिकल कलेजमा करिब १ सय ५० जना जति नेपाली विद्यार्थीहरु अध्ययनरत छन्, तिनीहरुलाई नेपालमै स्थानान्तरण गर्न र एजुकेशन कन्सल्टेन्सीहरुलाई छानविन गरि दोषीलाई कानूनी कारबाही गर्न जोडदार माग गर्दछु।’

सम्बन्धित शिर्षकहरु