
काठमाडाैँ । दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले नेपालमा भिसा प्रक्रिया झन्झटिलो भएको गुनासो गरेका छन्। उनले बुधबार गृहमन्त्री रामबहादुर थापासँगको भेटवार्तामा कोरीयालीहरु लगानी गर्न आउँदा केही समस्या रहेको बताए।
राजदुत सिकले नेपालमा उर्जा, पर्यटन लगायतका क्षेत्रमा कोरियाली कम्पनीले लगानी गरिरहेको भन्दै त्यसमा थप लगानी गर्न कोरीया तयार रहेको जनाएका थिए। उनले भिषा प्रक्रिया अप्ठ्याराे रहेकाे बताएपछि जवाफमा गृहमन्त्री थापाले भिषा प्राप्तिकाे प्रक्रिया सहज पार्ने जवाफ दिएका थिए।
गृहमन्त्रालयमा भएको भेटमा नेपाल–दक्षिण कोरीया द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो। भेटमा गृहमन्त्री थापाले पछिल्लो समय दक्षिण कोरीया र उत्तर कोरीयाबीच भइरहेको वार्ता र छलफलको स्वागत गर्दै यसले समग्र विश्वमै शन्ति कायम गर्न सहयोग पुग्ने बताएका थिए।
दक्षिण कोरीयामा नेपालीहरुलाई रोजगारीको अवसर दिएकोमा राजदूतलाई धन्यवाद व्यक्त गर्दै त्यहाँ कार्यरत नेपालीहरुको सेवा, सुविधा तथा सुरक्षाका विषयमा सराेकार राखेका थिए। जवाफमा पार्क योङ सिकले हाल ३५ हजार नेपाली दक्षिण कोरियामा कार्यरत रहेको र २० हजारले कार्य अवधि समाप्त गरी नेपाल फर्किसकेको जानकारी दिएका थिए। कोरियामा कार्यरत नेपालीहरुको हितको काेरियाली सरकार सम्वेदनशील रहेकाे उनले जवाफ दिएका थिए।








