
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) निकट भातृ संगठनहरुले हाल सञ्चालनमा रहेका निजी मेडिकल कलेजलाई राष्ट्रियकरण गर्नुपर्ने माग गरेका छन् । युवासंघ नेपाल, वाईसियल नेपाल, अनेरास्ववियु र अनेरास्ववियु क्रान्तीकारीले संयुक्त प्रेस विज्ञप्ति निकाल्दै उक्त माग गरेका हुन् । संसदमा पेश भएको चिकित्सा चिकित्सा शिक्षा विद्येयक र डा. गोविन्द केसीको आन्दोलनको बीचको समस्या समाधानको सेतुको रुपमा निजी मेडिकल कलेजको राष्ट्रियकरण गर्नुपर्ने उनीहरुको माग छ ।
यी चार संगठनको संयुक्त बैठकपछि निकालेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको प्रस्तावनामा उल्लेखित समाजवाद उन्मुख व्यवस्थाको मर्म एवम शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक हकको रुपमा गरिएको संवैधानिक ग्यारेन्टीको प्रावधान अनुसार निजी क्षेत्रबाट सञ्चालित सम्पूर्ण मेडिकल कलेजलाई अविलम्ब राष्ट्रियकरण वा गैर नाफामुखी ट्रष्टमा रुपान्तरण गरियोस।’
साथै ७ वटै प्रदेशमा सुविधासम्पन्न शिक्षण अस्पताल हुनुपर्ने ४ उनीहरुको माग छ ।
चिकित्सा शिक्षाभित्रको छात्रवृतिलाई न्यून आय, गरिब र लक्षित समुदाय आधारित बनाई पारदर्शी ढंगले वितरण गर्नुपर्ने, अस्पतालमा बन्द हड्ताल पूर्ण रुपमा प्रतिबन्ध लगाउनु पर्ने लगायत ९ बुँदामा उनीहरुले आफ्ना माग अघि सारेका छन् ।









