
काठमाडौं । चिकित्सा क्षेत्रको सुधारको माग गर्दै अनशसरत प्राडा गोविन्द केसीको अनशन काठमाडौंमा पनि जारी रहेको छ । विहीबार जुम्लाबाट प्रहरी परिचालन गरेर काठमाडौं ल्याएपछि केसीले शिक्षण अस्पताल महाराजगञ्जमा अनशन जारी राखेका हुन् । अनशनरत केसीलाई बलप्रयोग गरेर काठमाडौं ल्याइएको घटनाप्रति सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेको छ ।
आज सरकारी वार्ता टोलीले केसीपक्षसँग वार्ता गर्ने तयारी गरेको छ । माथेमा आयोगको प्रतिवेदन जस्ताको त्यस्तै पारित गर्न नहुने निष्कर्षमा पुगेको सरकारले आफ्नो तर्फबाट पूरा गर्न सकिने मागको सूची केसीपक्षलाई जानकारी गराउने तयारी गरेको छ ।
वार्ताको समय भने तय भइनसकेको शिक्षा मन्त्रालयले जनाएको छ । केसीको समर्थनमा देशभरका विभिन्न स्वास्थ्य संस्थामा बहिरंग विभाग बन्द भएका छन् । चिकित्सकहरुको आन्दोलनका कारण बिरामी भने मर्कामा परेका छन् ।








