नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध

काठमाडाैँ । नारायणगढ- मुग्लिन सडकखण्डको तीन ठाउँमा पहिरो खसेपछि आज विहानैदेखि सडक अवरुद्ध भएको छ। भरतपुर महानगरपालिका-२९ घुमाउनेमा आज बिहान ५ बजे ठूलो पहिरो खसेको हो। पहिरो खसेपछि सवारी साधन रोकिँदा हजारौँ यात्रु अलपत्र परेका छन्। त्यसैगरी टोपे खोला र जलवीरेमा पनि स-साना पहिरो खसेककाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

घुमाउनेको पहिरो ठूलो भएकाले पहिरो पन्छाउन चार घण्टा भन्दा धेरै समय लाग्ने प्रहरीले जनाएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी दीपेन्द्र बस्नेतका अनुसार ठूलो तथा साना पहिरो खसेका ठाउँमा स्काभेटर लगाएर पहिरो पन्छाउने काम भइरहेको छ।

गए राति १२ बजे पनि यो सडक खण्डमा पर्ने गाईघाटमा पहिरो गएको थियो। दुई घण्टा लगाएर उक्त पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालनमा ल्याइएको थियो। सवारी साधन सञ्चालनमा आएको तीन घन्टा नबित्दै फेरि अर्को पहिरो गएको हो।

विगत दुई दिनदेखि लगातार पानी परिरहेकाले नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरोको जोखिम बढेको छ। सो सडकका जुनसुकै ठाउँमा पहिरो खस्न सक्ने भन्दै प्रहरीले उच्च सतर्कता अपनाउन यात्रु र चालकलाई आग्रह गरेको छ।

वर्षात् सुरु भएसँगै नारायणगढ-मुग्लिन सडक खण्डमा पहिरो खस्ने क्रम बढेको छ। राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य सडक सधैँजसो अवरुद्ध हुँदा यात्रुले सास्ती पाउँदै आएका छन्। सडक विस्तार गरेर स्तरोन्नति गरिए पनि यो सडक खण्डमा पहिरो जानेक्रम भने रोकिएको छैन। पहाड काटेर सडक विस्तार गरिएकाले पहिरोजानेक्रम वढेको नारायणगढ-मुग्लिन सडक आयोजनाले जनाएको छ। यो सडक भएर दैनिक १० हजार भन्दा धेरै गाडी गुड्ने गरेका छन्।

सम्बन्धित शिर्षकहरु