काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली रुपैया अहिलेसम्मकै सस्तो भएको छ। डलरको तुलनामा भारतीय रुपैयाँको तीव्र अवमूल्यन भएपछि यसको प्रभाव नेरुमा पनि देखिएको हो। भारुसँग नेरुको विनिमय दर भने स्थिर छ। आर्थिक अभियान दैनिकका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेपछि भारतको चालू खाता घाटा बढ्ने चिन्ताले डलरको तुलनामा भारु सस्तो भएको हो।
भरुमा डलरको जेजस्तो प्रभाव पर्छ त्यसको सोझो असर नेरुमा पर्छ। नेपाल राष्ट्र बैंकले बिहीबार एक डलरबाराबर ११० रुपैयाँ ६२ पैसा विनिमयदर तोकेको थियो। अघिल्लो दिन ११० रुपैयाँ २८ पैसा तोकिएको थियो। यो नेपाली रुपैयाँको अहिलेसम्मकै कमजोर अवस्था हो। यो आर्थिक वर्ष सुरु भएयता अहिलेसम्म नेरु डलरको तुलनामा सात रुपैयाँ १४ पैसा सस्तो भएको छ।








