मुलुकभरि मनसुन सक्रिय, भारी वर्षा हुने

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले मुलुकभरि मनसुन सक्रिय भइसकेकाले केही स्थानमा भारी वर्षा हुने जनाएको छ । महाशाखाका मौसमविद् सुवास रिमालले मनसुन सक्रिय भइसकेकाले अबको केही दिनसम्म मुलुकको पूर्व र पश्चिमी भूभागको केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जानकारी दिए।

उनले नदी तटीय क्षेत्रका बासिन्दाहरुलाई सतर्क रहन आग्रह समेत गरे । प्रमुख नदीहरूमा जलस्तर बढ्ने क्रममा रहेको बताउँदै उनले विशेष गरी चुरे र मध्यपहाडका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरे ।

मनसुनी न्यूनचापीय रेखा विस्तारै हिमालको काँखको नजिकमा आइसकेकाले मुलुकभरि मनसुन सक्रिय भएको बताउँदै उनले पूर्वीय र पश्चिमी भूभागको केही ठाउँमा जलवाष्प केन्द्रित भएको देखिएको छ, जसले गर्दा बढी वर्षा हुने सम्भावना छ भने । एक घण्टामा ६० मिलि लिटर परेको अवस्थामा सामान्यत भारी वर्षा भएको मानिने गरिन्छ ।

महाशाखाका अनुसार, यो वर्ष मनसुन जून ८ मा नेपालको पूर्वी भागबाट प्रवेश गरी जून २७ देखि मुलुकभरि सक्रिय भएको हो । हरेक वर्ष प्रायः १० जूनमा नेपालको पूर्वी भूभागमा र १२ जूनमा काठमाडौँमा मनसुन सुरु भएको मानिन्छ ।

त्यसैगरी, मौसम पूर्वानुमान महाशाखा र जल तथा मौसम विज्ञान विभागको बाढी सतर्कता केन्द्रलले शनिवार सूचना जारी गरी मुलुकको पूर्वी र पश्चिमी भूभागमा हल्कादेखि मध्य खालको वर्षा हुने जानकारी गराउँदै नदी तटीय क्षेत्रमा गर्नुपर्ने कार्यहरु सतर्कताका साथ गर्नहुन तथा प्रतिकार्यको लागि तयारी अवस्थामा रहन आमनागरिकसँग अनुरोध समेत गरेको छ ।

सम्बन्धित शिर्षकहरु