काठमाडौं । राजधानीासीले वर्षौदेखि प्रतिक्षा गर्दै आएको बाहिरी चक्रपथ आयोजना जग्गा दलालहरुको चंगुलमा जकडिएको छ । २६ बर्षअघि अध्ययन गरिएको बाहिरी चक्रपथ आयोजनाको पाइलट प्रोजेक्ट कार्यान्वयनको चरणमा आउन लागेका बेला जग्गा दलालहरुको आयोजनामा असजिलो सिर्जना गरेका हुन् ।
बाहिरी चक्रपथको पाइलट प्रोजेक्टका रुपमा चोभारदेखि सतुंगलसम्मको ६.६१८ किलोमिटर खण्डको काम अघि बढाउने अन्तिम तयारी भइरहेको छ । जहाँ ७६ वटा घरहरु पर्छन् । ७ हजार ८ सय रोपनी जमिन अधिग्रहण गर्नुपर्ने प्रोजेक्टमा जग्गा दलालहरुले स–साना कित्तामा जग्गा टुक्र्याएर आयोजनाको काम अगाडि बढाउन असजिलो बनाएका हुन् ।
आयोजनाका प्रमुख दिपक श्रेष्ठका अनुसार सो खण्डमा २.५ आना भन्दा साना कित्ताहरुको संख्या २ हजार ५६२ वटा छन् । यीमध्ये अधिकांश जमिनहरु आयोजना अघि बढ्न लागेको जानकारी पाएपछि जग्गा दलालहरुले कित्ताकाट गराएका हुन् । ‘यो आयोजनाको सबै भन्दा जटिल पाटो भनेको २.५ आना भन्दा साना २ हजार ५६२ वटा कित्ताहरु नै हुन्, त्यस्ता जमिनको अधिग्रहण र फिर्ता कसरी गराउने भन्ने प्रश्न गम्भि बनिरहेको छ’, शहरी विकासमन्त्री मोहम्द इस्तियाक राईलाई आयोजना प्रमुख श्रेष्ठले सुनाए ।
चोभार–सतुंगल खण्डको लागत ६ अर्ब ५० करोड अनुमान गरिएको छ । सोमध्ये १ अर्ब रुपैंयाँ भने ७६ वटा घरहरुलाई क्षतिपूर्तिका लागि उपलब्ध गराउनुपर्ने अवस्था छ । आयोजनाका अधिकृत ध्रबु सापकोटाले भने अनेकौं अवरोधहरुलाई छिचोल्दै पाइलट प्रोजेक्टको काम अघि बढाउनुको विकल्प नभएको बताएका छन् ।
२०७४ गत बैशाख १३ गते सो खण्डको डिपिआर स्विकृत भएको थियो । बाहिरी चक्रपथ सडकको दाँया–बायाँ २५०–२५० मिटर जमिन अधिग्रहण हुनेछ । शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले जग्गा दलालहरुको चक्रब्युबाट बाहिरी चक्रपथलाई निकाल्दै अघि बढाउन आवश्यक परे नयाँ अलाइनमेन्ट र डीपीआर नै बनाउन पनि मन्त्रालय तयार रहेको बताएका छन् ।नयाँ पेज








