कैदी हत्या प्रकरण: जेलर र चौकीदार हटाउन यसरी भएको थियो हत्या

काठमाडौं । एक कैदीले जेलर र चौकीदारलाई हटाउन कैदमै रहेका अर्का व्यक्तिको हत्या गरेको रहस्य खुलेको छ । आफुले भनेको नमानेको भन्दै ललितपुरमा रहेको नख्खु जेलका जेलर र चौकीदारलाई हटाउन आफ्नै साथीको हत्या गरेको रहस्य खुलेको हो ।

नेपाली चाल्र्स शोभराज उपनाम पाएका सिरियल किलर अभिषेक सिंहले नै अर्का कैदी भक्तबहादुर सुनुवारको हत्या गरेको अनुसन्धानले पुष्टि गरेको छ । केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) को छानविन टोलीले गरेको अनुसन्धानका क्रममा सिंहले नै खानामा केमिकल खुवाएर हत्या गरेको देखिएको छ । सिआइबीले गरेको छानबिनमा सुनुवारको हत्या गरेको पुष्टि भएपछि मंगलबार उनिसग बयान लिएको छ । बयानको क्रममा सिंहले आफुले नै हत्या गरेको स्वीकार गरेको सिआइबी स्रोतको दावी छ ।

हत्याको बखतमा त्यहा चिठ्ठी समेत फेला परेको थियो । चिठ्ठीमा चौकीदार बुद्ध गुरुङले कैद मिनाहाका लागि सुनुवारसँग १५ लाख मागेको र उक्त पैसा नदिए जेलभित्रै सड्नुपर्ने भनेर धम्क्याएको लेखिएको प्रहरी स्रोतले जानकारी दिएको छ । सिंहको जेलर र चौकीदारसँग सम्बन्ध राम्रो नभएपछि उनैले सो पत्र पनि लेखेका थिए ।

जेलभित्रै कैदीको मृत्यु भएपछि उनीहरुलाई त्यहाँबाट हटाउने भएकाले आफुले उनको खानामा केमिकल मिसाएर दिएको स्विकार गरेका हुन् । उनको पोष्टमार्टम रिपोर्टमा शुरुमा मृत्युको कारण खुल्न नसकेको उल्लेख गरिएको थियो । थप परिक्षणमा केमिकल खुवाएर हत्या गरिएको खुलेपछि गृहमन्त्रालयद्धारा गठित छानविन समितिले सिआइबीलाई थप अनुसन्धानका लागि सिफारिस गरेको थियो ।

यसरी भएको थियो हत्या

बैशाख २२ गते शुक्रबार राति नख्खु कारागारभित्र बर्दिया स्थायी घर भएका भक्तबहादुर सुनुवारको मृत्यु भएको थियो । सुनुवार कर्तव्य ज्यान मुद्धाको सजाय भुक्तान गरिरहेका थिए । मृतक सुनुवारका आफन्तले जेलभित्र नै हत्या भएको हुनसक्ने भन्दै महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी दिएपछि प्रहरीले अनुसन्धान अगाडी बढाएको थियो ।

मृतक सुनुवार प्रेमिकाको हत्यामा कर्तव्य ज्यान मुद्धामा सजाय भुक्तान गरिरहेका थिए । कारागारभित्रका चौकीदार र जेलरको योजनामा हत्या भएको हुनसक्ने मृतकका परिवारले प्रहरीमा दिएको उजुरीमा उल्लेख गरेपछि अनुसन्धान अगाडी बढेको थियो ।

गृह मन्त्रालयले सो हत्या छानविन गर्न समिति गठन गरेको थियो । कारागार ब्यवस्थापन विभागका निर्देशक कृष्ण प्रसाद अधिकारीको संयोजकत्वमा गठन भएको छानविन समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी डमरु प्रसाद निरौला, प्रहरी नायव उपरिक्षक सोमेन्द्र सिंह राठौर, महान्यायाधिवक्ता कार्यालयका शाखा अधिकृत घनश्याम घिमिरे र गृह मन्त्रालयका शाखा अधिकृत कृष्ण प्रसाद सापकोटा सदस्य थिए ।

जबर्जस्ती करणी र कर्तब्य ज्यान मुद्धामा कैद भुक्तान गरिरहेका सुनारको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको थियो । सुनारको मृत्यु शंकास्पद भएको, शरीरमा निलडाम देखिएको र खानामा विष मिसाएर खुवाइएको भन्दै परिवारले शव बुझ्न अस्विकार गरेका थिए ।

२०७० साल कात्तिक यता जेलमा रहेका सिंहले नाटकीय शैलीमा ६ जनाको हत्या गरेका थिए । उनलाई नेपाली शोभराज उपनामले पनि चिनिन्छ । सिआईबीका एक अधिकारीका अनुसार अभिषेक र सुनुवार जेलमा सँगै बस्दथे । सिंहले विगतमा पनि आफु निकट व्यक्तिहरुलाई झुक्याएर खानामा औषधी खुवाएर हत्या गर्दथे । सुुनुवारलाई पनि त्यसरी नै हत्या गरेको आशंका छ ।

सिंहको मृत्यु हुनुभन्दा एक दिन अघि सुनुवारले गृहमन्त्रीलाई जेलबाटै पत्र लेखेका थिए । आफुलाई चौकीदारले १५ लाख रुपैयाँ मागेको र यातना दिने गरेको पत्रमा उल्लेख छ । पत्र लेखेकै भोलिपल्ट उनको मृत्यु भएपछि जेलभित्र गृहमन्त्रीले जेलर र चौकीदारमाथि कारबाही गर्ने भएकाले सोही योजनाअनुसार उनले सुनुवारको हत्या गरेका हुन् । पत्र लेख्ने नाटक पनि सिंहकै भएको खुलेको छ । उक्त पत्रको समेत प्रहरीले ल्याबमा परिक्षण गराउँदा सिंहले नै लेखेको प्रष्ट भएको छ ।
-जनता टाईम्स्

सम्बन्धित शिर्षकहरु