को थिए आइतबार राति हत्या गरिएका पूर्व राजदूत झा ?

 

काठमाडाैँ । सोमबार बिहानै नेपालीहरुले एउटा दुखद खबर सुन्नुपर्‍यो। त्यो दुखद खबर थियो- पूर्वराजदूत केशबराज झाको हत्या। ८० बर्षीय झा बबरमहल कुरियागाउँस्थित निवासमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेका थिए।

स्व झा ११ चैत्र २०४९ देखि १६ पुष २०५४ सम्म फ्रान्सका लागि नेपाली राजदूत थिए। करिअर डिप्लोम्याटका रुपमा उनी बहुदलीय व्यवस्था पुनस्र्थापनाको केही बर्षपछि राजदूत बनेका थिए। त्यसअघि उनी परराष्ट्र मन्त्रालयमा चिफ अफ प्रोटोकल थिए।

राजदूत झाको जागिरे जीवन राजकीय संस्कृत महाविद्यालयको शिक्षकको रुपमा भएको थियो। त्यो बेला सरकारी विद्यालयका शिक्षक नेपाल सरकार शाखा अधिकृत सरह मानिन्थे। त्यसैले उक्त महाविद्यालयको शिक्षकबाट उनी बिसं २०२३ मा परराष्ट्र मन्त्रालयमा सरुवा भएका थिए।

परराष्ट्र मन्त्रालयमा सरुवा भएको केही बर्षपछि उनको पहिलो पोष्टिङ शाखा अधिकृतका रुपमा जर्मनीस्थित नेपाली राजदूतावासमा भएको थियो भने उपसचिव छँद अमेरिकाको राजधानी वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासमा भयो।

उनी वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासबाट न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको स्थायी नियोगमा सरुवा भएका थिए। यी जिम्मेवारी पुरा गरेर नेपाल फर्केको केही समयपछि परराष्ट्र मन्त्रालयको सहसचिवमा बढुवा भएपछि चिफ अफ प्रोटोकल बने।

जतिबेला उनी फ्रान्सको राजदूत थिए, त्यही बेला नेपाल पेरिसमा मुख्यालय रहेको युनेस्कोको बोर्डमा निर्वाचित भएको थियो । राजदूतको ४ बर्षे जिम्मेवारी पुरा गरेर फर्किएपछि झालामो समय नेपाल विश्व सम्बन्ध परिषद्को अध्यक्ष थिए।

युरोपेली मुलुकमा राष्ट्रप्रमुखको भ्रमण गराउन निकै कठिन हुन्थ्यो, तर उनकै कार्यकालमा तत्कालीन राजा बीरेन्द्रको सन् १९९४मा भ्रमण हुन सकेको थियो। सो भ्रमण सन् १९६६मा राजा महेन्द्रले गरेपछिको पहिलो नेपाली राष्ट्रप्रमुखको भ्रमण थियो।

राजा वीरेन्द्रमात्र होइन, झाको कार्यकालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले पनि फ्रान्सको भ्रमण गरेका थिए। डेनमार्कबाट फर्कंदा प्रधानमन्त्री अधिकारीको फ्रान्स भ्रमण भएको थियो।

काठमाडौँको रैथाने नेवार परिवारका झा सुरुमा गणेशस्थानमा बस्थे भने बिसं २०’ को दशकदेखि बबरमहल कुरियागाउँमा घर बनाएर बस्न थालेका थिए। उनका छोरा डा किरणराज झा आयरल्याण्डमा बस्दै आएका छन्। उनकी एकजना छोरीपनि छन्। झा बबरमहलस्थित निवासमा श्रीमति ज्ञानु झासँग बस्दै आएका थिए।

‘बृद्ध अवस्थामा भएपनि उहाँ निकै सक्रिय व्यक्ति हुनुहुन्थ्यो’ पूर्व राजदूत (जर्मनी र जापान) समेत रहेका पूर्व परराष्ट्र सचिव डा मदन भट्टराईले भने, ‘बृद्ध उमेरमा पनि उहाँले उत्तिकै सक्रियताका साथ जनसम्पर्कलाई निरन्तरता दिनुभएको थियो।’

सम्बन्धित शिर्षकहरु