
काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सार्वजनिक सञ्चार माध्यममा सरकारले हस्तपक्षेप नगरेको दाबी गरेका छन्। सार्वजनिक सञ्चारमाध्यममा सरकारले हस्तक्षेप गरेको भन्ने आवाज उठेको भन्दै उनले त्यसो नभएको स्पष्ट पारेका हुन्।
आफ्नो मन्त्रालय अन्र्तगत विनियोजित बजेटका बारेमा संघीय संसदमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री बास्कोटाले प्रश्न सोधेकै आधारमा नेपाल टेलिभिजनका कुनै पनि कार्यक्रम पनि बन्द नगरिएको बताए। नेपाल टेलिभिजनको कर्मचारी निकालिएको र कार्यक्रम हटाईएको भन्ने सम्बन्धमा उठेको प्रश्नमा उनले कुनै पनि कर्मचारी ननिकालिएको र कार्यक्रम पनि बन्द नगरिएको स्पष्ट पारे। उनले भने “कोही पनि कर्मचारी निकालिएको छैन, कुनै पनि कार्यक्रम बन्द भएको छैन । ”
एनसेलबाट चन्दा लिएको बारे आफुलाई जानकारी नभएको र करको सवालमा कुनै पनि किसिमको कानुनी उन्मुक्ति नदिने पनि उनले बताए। नेपाल टेलिकमले सबै स्थान र सबै नेपालीको पहुँच पुग्ने गरि सेवा विस्तार गरेको तथा यसै बर्ष मात्रै ७ सय ३८ वटा टावर थप्न मन्त्रालयले निर्देशन दिईसकेको पनि उनले जानकारी दिए।
उनले मापदण्ड अनुसार पत्रकारिता क्षेत्र भन्दा बाहिरका संस्थालाई लोक कल्याणकारी विज्ञापन अन्र्तगत कुनै अनुदान नदिएको स्पष्ट पारे। श्रमजीवी पत्रकार ऐनको कार्यन्वयन र न्युनतम पारिश्रमिक लागु गराउन समिति नै गठन भएको भन्दै त्यसको सफल कार्यान्वयनका लागि ठुला मिडियालाई घचघचाउने काम भईरहेको बताए।
नेपाली सञ्चारमाध्यमका प्रसारित हुने विज्ञापनमा नेपाली नै हुनुपर्ने भन्ने विषयमा मन्त्रालय गम्भीर रहेको भन्दै क्लिन फिटको व्यवस्था लागु भएपछि विस्तारै समाधान हुने बताए। उनले सरकारले २ करोड पत्रकार वृत्तिकोषका लागि छुट्याएको र सो कोष सञ्चालनका लागि कार्यविधि र निर्देशिका पनि मन्त्रालयले तयार गरिसकेको जानकारी गराए।
संञ्चारमन्त्रालय अन्र्तगत विनियोजित बजेटबारे २१ जना सांसदहरुले प्रश्न उठाएका थिए। विनियोजित बजेट माथिको छलफल सकिएपछि मंगलबार बसेको प्रतिनिधिसभाको दोश्रो बैठकमा सञ्चारमन्त्रीले जवाफ दिए।








