
काठमाडाैँ । नेपाल बैंकर्स संघले निक्षेपमा ११ प्रतिशत ब्याज नबढाउने भद्र सहमति गरेपछि बाणिज्य बैंकहरुले धमाधम ब्याजदर घटाउन थालेका छन्। वाणिज्य बैंकहरुले तरलताको अभाव भएको भन्दैै निक्षेपको ब्याजदर बढाइरहेका थिए। त्यसोगर्दा एक बैंकमा रहेको निक्षेप अर्कोमा सर्ने काम मात्रै भएको भन्दै बैंकर्स संघले भद्र सहमति गरेको हो।
भद्र महमति पछि सेञ्चुरी कमर्सियल बैंकले आजेदेखि लागु हुने गरि सबै प्रकारका बचत खातामा ७ प्रतिशत, व्यक्तिगत मुद्दती खातामा १ वर्ष सम्मको लागी १०.५ प्रतिशत ब्याज दिने बताएको छ। साथै, संस्थागत मुद्दती खातामा १ वर्ष सम्मको लागी १०.५ प्रतिशत त्रैमासिक रुपमा ब्याज भुक्तानी हुनेगरी संशोधन गरेको बैंकले जनाएको छ।
निक्षेपको ब्याजदर घटाएको भन्दै एनसीसी बैंक पनि सुचना जारी गरेको छ। यसले असार ८ गतेबाटै लागु हुने गरी बचतमा ७ प्रतिशतसम्म र मुद्दति निक्षेपमा साढे १० प्रतिशत ब्याजदर कायम गरेको जनाएको छ। शुक्रबारबाट नै लागु हुनेगरि नेपाल बंगलादेश बैंकले पनि बचतमा ७ प्रतिशत र मुद्दति निक्षेपमा १० प्रतिशतको ब्याजदर सार्वजनिक गरेको छ।
ग्लोबल आइएमई बैंकले साढे १० प्रतिशत सम्म मुद्दति निक्षेपको ब्याजदर कायम गरेको छ भने प्राइम बैंकले बचतमा ७ र मुद्दति निक्षेपमा साढे १० प्रतिशतसम्म ब्याजदर दिने सुचना जारी गरेको हो।
यस्तै सिद्धार्थ बैंकको पनि ७ र ११ प्रतिशत रहेको छ । माछापुछ्रेको बचतमा ६ प्रतिशत र मुद्दति निक्षेपमा ११ प्रतिशत रहेको छ। नेपाल एसबिआई बैंकको मुद्दतिमा साढे १० प्रतिशतसम्म छ । प्रभु बैंकको साढे १० प्रतिशतसम्म छ।








