
काठमाडौं । फुटबलको उन्माद संसार भरी बढिरहेको यस समयमा फिफा विश्वकप २०१८ को नेपालमा आधिकारीक इजाजत प्राप्त मिडिया हब प्रा.लि. ले नेपाली फुटबल फ्यानहरुका लागि ४ नेपाली च्यानलहरुमा विश्वकप प्रत्यक्ष प्रशारण गर्ने भएको छ । चार ओटा नेपाली च्यानलहरु ; नेपाल टेलिभिजन, कान्तिपुर एच.डि., डिशहोम एक्सन् स्पोर्टस् र एन.टि.भि. प्लसद्वारा फिफा विश्वकप म्याच प्रत्यक्ष प्रशारण हुने भएको हो ।
एक मात्र आधिकारीक टेलिभिजन प्रशारण साझेदार एवं मिडिया कारोबार एजेन्सी मिडिया हब प्रा.लि.ले फिफा विश्व कप २०१८ बारे उक्त जानकारी दिएको हो । मिडिया हब प्रा.लि. ले ‘राम्रो नै हेरौं, हाम्रो मै हेरौं’ भन्ने नाराको साथ यो सुविधा प्रदान गरेको जनाएको छ ।
मिडिया हबले सधैं फिफा विश्वकपलाई नेपाली च्यानलहरुमा ल्याउन ठूलो योगदान गर्दै आएको छ । यो वर्ष कान्तिपुर एच.डि. र डिशहोम एक्सन स्पोर्टस्मा एच.डि. क्वालिटिको प्रशारण हुने मिडिया हर्बले जनाएको छ ।
अर्घाखाँची सिमेन्ट,बजाज पल्सर एन.एस. २००, कोका कोला र राईनो ५०० डि, क्लियर, रेनो क्याप्चर, डिसहोम, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, जुपिटर क्लासिक, हिमस्टार एल.ई.डी बल्ब, एन.आई.सि. एसिया बैंक, सर्वो लुब्रिकेन्टस् र एसियन पेन्टस्को यसमा साथ र सहयोग रहेको छ ।
यस पहलको बारेमा मिडिया हब प्रा.लि.का कार्यकारी निर्देशक सोम धितालले भने, ‘लामो समय देखि फिफा विश्वकपको नेपालमा आधिकारीक इजाजत प्राप्त संस्था बन्न सकेकोमा हामी धेरै खुशी छाैं। फिफा विश्वकप हेर्न विदेशी च्यानलहरुमा मात्रै निर्भर हुनुपर्ने समय अब गएको छ । अब नेपालीहरुले विश्वकप नेपाली एच.डि. च्यानलहरुमा नै प्रत्यक्ष हेर्न पाउने छन् । हामीले हाम्रो दर्शकहरुको लागि निकालेको ‘राम्रो नै हेरौं, हाम्रो मै हेरौं’ भन्ने नारा हाम्रो पहलको लागि सबै भन्दा उपयुक्त रहेको छ ।’






